आज प्रजातन्त्र दिवस, सुर्खेतमा पनि मनाइँदै

सुर्खेत । आज प्रजातन्त्र दिवस । दिवसका अवसरमा सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आइतवार प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिएको छ । यसवर्ष सरकारले प्रजातन्त्र दिवस तीन दिन मनाउने निर्णय गरेको थियो । सोही अनुसार प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन तीनवटै तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आग्रह गरेको थियो । यसअघि नै मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन आग्रह गरेको हो ।

प्रजातन्त्र दिवस मनाउन सबै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्न पनि परिपत्र गरिएको छ । त्यस्तै सबै सरकारी निकाय, प्रतिष्ठान, संघसंस्था, कार्यालयमा राष्ट्रिय झन्डा फहराउने तथा फागुन तीन दिन साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । सार्वजनिक निकाय र स्थलहरूको सरसफाइ गरी सम्भाव्य स्थानमा राष्ट्रिय झन्डा राखी सजावटसहित सौन्दर्यीकरण अभिवृद्धि गर्न पनि मन्त्रालयको परिपत्रमा उल्लेख गरिएको छ । सञ्चारमाध्यमबाट राष्ट्रिय प्रजातन्त्र दिवससँग सम्बन्धित सन्देशमूलक कार्यक्रम प्रकाशित तथा प्रसारित गर्ने र दिवस केन्द्रित सांस्कृतिक, साहित्यिक, शैक्षिक क्षेत्रसम्बद्ध सिर्जनात्मक तथा रचनात्मक प्रतियोगिताका कार्यक्रम आयोजना गर्न मन्त्रालयले सबै निकायलाई आग्रह गरेको छ ।


तपाईको प्रतिक्रिया