सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेलाई खोज्दै आएको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले गठबन्धन पुस १० गते साँझ टुटे पछि प्रधानमन्त्री दाहाल आफैँ एमालेलाई खोज्दै आएको बताएका हुन् । सचिव भट्टराईले गत मंसिर ४ मा भएको निर्वाचनमा नेकपा एमालेलाई हराउन गठबन्धन बनाएर घेराबन्दी गरिएको बताएका हुन् । उनले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुने उल्लेख गरे ।
उनले भने, ‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ । र, गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ ।’ पुस १० गतेको भौतिक अवस्था बदलिएको छैन। ’यस्तै सचिव भट्टराईले एमालेको ‘मिसन ग्रासरुट’ पार्टी सुदृढीकरण तथा विस्तार अभियान फागुन ५ गते सुरु भएको बताए । उनले भने, ‘पार्टीका ४० जना केन्द्रीय सदस्य नेताहरूलाई कर्णालीका ७९ पालिकामा खटाएको छ । कर्णालीमा पार्टी उपाध्यक्ष सुवास नेम्वाङले नेतृत्व गर्नुभएको छ ।’ एमालेको यो अभियान जमिनतिर फर्काउने भएको बताए ।


दर्शन खबर । ६ फाल्गुन २०७९, शनिबार