चन्दनाथमा सिँचाई गर्ने कुलो नहुँदा किसान समस्यामा

जुम्ला । चन्दननाथ नगरपालिकामा गत असोज महिनामा आएको बाढीका कारण कुलो बगाउँदा किसानहरू समस्यामा परेका छन् । बाढीले चन्दननाथ नगरपालिकाको वडा १ देखि ५ सम्मका किसानले प्रयोग गर्दै आएको माझकुलो र ठिन्केकुलो बगाएको थियो । उक्त कुलो हालसम्म पनि मर्मत नहुँदा झण्डै २ हजार ५ सय हेक्टर जमिन बाँझो रहने चन्दननाथ २ का किसान दीपबहादुर मल्लले बताए । उनले उक्त कुलो मर्मतमा सरकारले चासो नदिँदा हिउँदे बाली लगाउन ढिलो भएको बताए । कुलो नबन्दा जेठ महिना रोपाइँ गर्न पनि गह्यो हुने किसानहरूले बताएका छन् । चन्दननाथ १ का किसान हरिशरण आचार्यले कुलो निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । यस्तै किसानहरूले कुलो मर्मतको माग गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । स्थानीय प्रशासनले भौतिक पूर्वाधार कार्यालय, सिँचाइ कार्यालय र चन्दननाथ नगरपालिकाका प्रतिनिधि राखेर छलफल पनि गरेको थियो ।

तपाईको प्रतिक्रिया