बिहे गर्न वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने


सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्नका लागी अनिवार्य वडाको सिफारिस चाहिने व्यवस्था गरेको छ । गाउँपालिकाभित्र बालविवाह बढ्दै गएको कारण यसलाई न्युनिकरण गर्नका लागि अनिवार्य वडाको सिफारिस गरिएको हो । कपुरकोटका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए । बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गाउँसभाबाट पारित भइसकेको छ । जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने अध्यक्ष पुनले बताए । पालिकाले गर्भवती महिलाको अवस्था बारे बुझ्दा १२० जना गर्भवती पहिलो गर्भ परीक्षण गराउन आएकोमा ३५ जना २० वर्ष मुनिका रहेको पाइएपछि यो नियम लागू गर्न बाध्य भएको उनको भनाई छ । बालविवाह हुनुमा मुख्य भूमिका अभिभावकको हुने भएकाले बालविवाह अस्वीकार गर्ने अभिभावकलाई सम्मान गर्ने पालिकाको योजना रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया