सुर्खेत । कर्णाली प्रदेश सभा हाल ‘विजनेश’ विहिन बनेको भएको छ । कर्णालीका नयाँ सरकार सञ्चालन भएको दुई महिना पुग्न लागिसक्दासम्म पनि प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशसभा ‘विजनेश’ विहीन बनेको हो । प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भए यता छ वटा वैठक बसेको छ । बैठकबाट मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित, सभामुख र उपसभामुख निर्वाचन र मन्त्रीहरू चुन्ने काम मात्र भएको छ । अब प्रदेशसभा बैठकमा कस्ता विषयले प्राथमिकता पाउँछ भन्ने सबैको चासो छ । तर प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा गृह जिल्ला रुकुम पश्चिममा भेटघाट कार्यक्रममा व्यस्त छन् । त्यस्तै प्रदेशसभा सचिवदेखि सदस्यहरु पनि सुर्खेत बाहेक अन्य जिल्लामा व्यस्त भएका छन् । पहिलो कार्यकाल सकिएसँगै उक्त कार्यकालमा दर्ता भएका विधेयकहरू निष्क्रिय भइसकेका छन् । त्यसैगरी सरकारले नयाँ विधेयक बनाएर संसदलाई टेबुल गर्न सकेको छैन । प्रदेशसभामा विधायन समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति र प्रदेश मामिला समिति छन् । प्रदेशसभामा ती समितिहरू गठन हुन बाँकी रहेका छन् ।
कर्णाली प्रदेशसभाका सचिव जिवराज बुढाथोकीले सरकारले ‘विजनेश’ नल्याएका कारण संसद बैठक सञ्चालन नभएको जानकारी गराए । ‘सरकार निर्माण भयो पदीय जिम्मेवारी विभाजन भयो तर सरकारले विजनेस ल्याएको छैन । जसका कारण संसद बैठक अवरुद्ध भएको छ ।’ बुढाथोकीले भने, यता सभामुख नन्दा गुरुङ्गलाई यस विषयमा वुझ्न खोज्दा आफु कार्यक्रममा व्यस्त भएको बताईन् । फागुनको पहिलो सातादेखि संसद् नियमित गर्ने गरी तयारी भईरहेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । संसदीय समिति गठनका लागि राजनीतिक सहमति पनि जुटाउनुपर्ने भएकाले केही दिनभित्रैबाट त्यस विषयमा छलफल अघि बढ्ने जिसीको भनाइ छ । यसअघि माघ ६ गते बसको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छेटौँ बैठकबाट सभामुख गुरुङ्गले अर्काे सुचना नआए सम्मका लागि यो बैठक स्थगित जानकारी गराएकी थिईन् ।


दर्शन खबर । ४ फाल्गुन २०७९, बिहीबार