
सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष हुन् गणेश भण्डारी । उनि जनप्रतिनिधि हुनुअघि व्यवसायमा व्यस्त थिए । व्यवसायबाटै मासिक डेढ, दुई लाख आम्दानी पनि गरिरहेका थिए । तर, जनप्रतिनिधि बनेसंगै आफ्नो मुख्य पेशा व्यवसायलाई भन्दा पनि सामाजिक सेवालाई प्राथमिकतामा राख्दै आएका छन् । जनताका दुःख, सुखका साथि बन्नुभएका अध्यक्ष भण्डारीले सरकारी सेवा गरेका थिए । सोही अनुसार अध्यक्ष काम गरेका छन् ।
सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाअध्यक्षको हैसियतले प्राप्त गर्ने सेवा, सुविधाको रकम एक कक्षा देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति, ज्येष्ठ नागरिकलाई सम्मान, शहीद परिवारलाई सम्मान र अन्तर जातिय विवाह गर्ने जोडिलाई सम्मान गर्ने जस्ता सामाजिक कार्यमा उक्त सेवा सुविधा खर्च गरेका हुन् ।
‘कमाउन होइन, गुमाउनु पर्छ’भन्ने भाव सहित राजनीतिमा लागेपछि ‘धेरै होइन थोरै, थोरैले होइन धेरैले’ सहयोग गर्न सके समाज बन्छ भन्ने उद्देश्यले उक्त कार्यको थालनी आफैबाट गरेको वडाअध्यक्ष भण्डारीको भनाई थियो ।
वडा अध्यक्ष भण्डारीले पाँच वर्षे कार्यकालबाट पाएको पारिश्रमिक र अन्य सेवा, सुविधाको रकम यसै गरी सामाजिक कार्यमा खर्चिने प्रतिवद्धता गर्नुभएको छ । आफ्नै पारिश्रमिक र सेवा, सुविधाबाट निकट भविष्यमा अक्षयकोषको समेत स्थापना गरिने बताए ।
अध्यक्ष भण्डारीले आफुले हालसम्म पाएको सेवा सुविधाको रकम र अन्य समाज सेवी व्यक्तिहरुबाट संकलन भएको सहयोग रकमबाट आमा वा बुवा अथवा दुवै गुमाएका वडाभित्रका कक्षा एक देखि १२ सम्मका ६६ जना विद्यार्थीहरुलाई पैतिस सयका दरले दुई लाख ३१ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको जानकारी दिए ।
त्यस्तै, वडाका ८० वर्षमाथिका ६२ जना ज्येष्ठ नागरिक, ११ घरका शहिद परिवार र अन्तर जातिय विवाह गर्ने सात वडा जोडीलाई नगद सहित सम्मान गरिएको छ । सम्मानित ज्येष्ठ नागरिक ९५ वर्षीय मन्दरी थापाले अहिलेसम्म आफुलाई कसैले सम्मान नदिएको भन्दै अहिले वडा कार्यालयले सम्मान गरेको प्रति खुशी व्यक्त गरिन् । शहिद परिवारका आफन्तले पनि राज्यले आफुहरुलाई न्याय दिन नसकिरहेको बेला वडा कार्यालय सानो सम्मान गरेर भएपनि आफ्नो घाउमा मल्हम लगाउने प्रयास गरेको भन्दै खुशी व्यक्त गरेका छन् । अन्तरजातिय विवाह गरेकी मनिषा खत्रीले अझै पनि छुवाछुत र विभेदको जरो गाडेको समाजमा वडा कार्यालयले सार्वजनिक रुपमा यसरी सम्मान गर्दा केही हदसम्म कुरीति र कुसंस्कार चिरफार गर्न सघाउ पुग्ने विश्वास गरे ।
कार्यक्रममा सहभागि कर्णालीका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले वडा कार्यालयले सुरुवात गरेको यो काम अनुकरणिय योग्य भएको बताए । वडाअध्यक्षले निस्वार्थ भावले सामाजिक कार्य गरेको भन्दै सवै सरोकारवाला निकायले यस्ता रचनात्मक कामको प्रशंसा गर्दै सहयोग गर्नुपर्ने बताए । प्रदेश सरकारले पनि यस्ता रचनात्मक कामका लागि सधै सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै, कार्यक्रममा विशेषअथिती रहेकी भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले नगरवासीको हितका लागि सदैव तयार रहेको बताईन् । नगरको विकास र समृद्धिसंगै नगरवासीको हक, अधिकारका लागि सधै सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिईन् । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।


दर्शन खबर । ३ फाल्गुन २०७९, बुधबार