सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले कर्णालीमा जडीबुटी उद्योग दर्ता भएपनि काम भने नभएको बताएका छन् । प्रदेश राजधानी सुर्खेतमा बिहीबार भएको एक कार्यक्रममा मन्त्री मल्लले कर्णालीमा ३३/३४ हजार जडीबुटी उद्योग दर्ता भएपनि काम भने नभएको बताएका हुन् । उनले कार्यक्रममा बोल्दै पहुँचका आधारमा योजना पार्ने तर काम नगर्ने प्रवृत्ति रहेको भन्दै अब त्यसलाई तोडिने पनि बताएका छन् ।
मन्त्री मल्लले जडीबुटी खेती र व्यवसाय गर्ने व्यक्तिका लागि नीति कार्यविधिले केही अल्झन पारेको बताए । कर्णालीमा पाइने जडीबुटीको प्रशोधन, ढुवानी, अनुमति र इजाजतमा समस्या हुँदा व्यवसायीले दुःख भोगेको उनको भनाई छ । कर्णालीमा जुडिबुटीको भण्डारण, प्रशोधन र बजारीकरण कसरी गर्न सकिन्छ, प्रशोधन गर्ने विधि र प्रक्रिया के हुन् सक्छन् भन्ने विषयमा सरकारले छलफल र बहस अगाडि बढाएको छ । सङ्घीय वन ऐन, नियमावली र कार्यविधिलाई आधार मानेर कर्णाली सरकारले जडीबुटीसम्बन्धी कार्यविधि ल्याउन लागिपरेको उनले बताए ।


दर्शन खबर । २६ माघ २०७९, बिहीबार