जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका १ ठिन्केमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार राति करिब १२ बजे ठिन्केस्थित लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया वन्दना भण्डारीको जलेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आगलागीका कारण घर पुरै जलेकोे र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले मध्यान्हलाई जानकारी दिए । उनका अनुसार रातिको समय भएको हुनाले समयमा आगो नियन्त्रण गर्न समस्या भएको थियो ।
घरमा भएका लत्ताकपडा, भाँडाकुडा, अन्नपात लगायतका सामग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हरेक वर्ष कर्णालीमा जाडो समयमा आगलागीका घटना बढ्दै गएका छन् । आगलागीमा परेर ज्यान गुमाउने बालबालिकाको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । गत वर्ष तिला गाउँपालिकाको वडा नम्बर ३ मा आगलागीमा परेर एकै घरका ३ जना बालबालिकाको मृत्यु भएको थियो ।


दर्शन खबर । २४ माघ २०७९, मंगलवार