रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीको राजीनामा स्वीकृत भएको हो । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राजीनामापछि रिक्त शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तोकिएको छ । रास्वपाले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारबाट बाहिरिए पनि उसले सरकारलाई गरेको समर्थन भने कायमै राखेको जनाएको छ । यसैबीच, रास्वपाका निवर्तमान मन्त्रीहरुले सोमबार नै सरकारी निवास छाडेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित आइतबार राजीनामा दिएका मन्त्रीहरुले सरकारी क्वाटर छाडेका हुन् । निवर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल आइतबार नै क्वाटरबाट नीजि निवास बालाजु सरेका थिए । अर्यालले सरकारी गाडी र पीएसओ पनि फिर्ता गरेका छन् । रवि लामिछानेले पनि आइतबार नै सरकारी निवास खाली गरेका छन्। लामिछानेले क्वाटर छाडे पनि आफ्ना सामान निकालेका थिएनन् । पूर्व स्वास्थ्य राज्यमन्त्री डा‍. तोसिमा कार्की भने सरकारी निवासमा नबसी आफ्नै निवासमा बसिरहेकी थिइन् । पूर्व शिक्षामन्त्री रहेका शिशिर खनालले भने सोमबार मात्रै क्वार्टर छोडेका हुन्


तपाईको प्रतिक्रिया