कर्णाली प्रदेशमै पहिलो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक सफलता पुर्वक मिर्गौला प्रत्यारोपन गरीएको छ । शनिबार प्रत्यारोपण केन्द्रका डाक्टर पुकार चन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले नवलपरासी बर्दघाट नगरपालिका ४ का २२ वर्षीय एक युवाको सफलतापुर्वक मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई आफ्नै ४१ वर्षीय आमाले मिगौला दिएकी हुन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । आइतबार सेवा विस्तारसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले पछिल्लो समय अस्पतालमा मिर्गौलाका बिरामी बढ्न थालेको भए पनि जटिल अवस्थाका बिरामी कम आउने गरेको बताए ।

जनचेतनाको कमी, आर्थिक अवस्था कमजोर भएकै कारण बिरामी अस्पतालसम्म नआएको हुन सक्ने बताउँदै कर्णालीका १० वटै जिल्लामा जनचेतनासहित हरेक स्वास्थ्य संस्थामा रोग पहिचानका लागि जाँच सेवा विस्तार गर्न जरुरी रहेको डाक्टर खड्काले बताए । प्रदेश अस्पतालले पहिलोपटक मिर्गौला प्रत्यारोपण थालेको हो । मिर्गौला प्रत्यारोपणका लागि प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाइएको छ । अब मिर्गौला प्रत्यारोपण सेवालाई निरन्तरता दिइने छ । मिर्गौला प्रत्यारोपणका लागि हाल तीन जना भन्दा बढी बिरामी सम्पर्कमा आइसकेको डाक्टर खड्काले जानकारी दिए ।


तपाईको प्रतिक्रिया