गृह मन्त्रालय पाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकाे अडान

काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने अडान दोहोर्‍याएको छ । आज (मङ्गलवार)बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय यसअघि नै आफ्नो पार्टीको भागमा परेकाले अब पनि आफूहरूले नै पाउनुपर्ने दाबी गरेका छन् । उनले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले गृह मन्त्रालय नपाउने हो भने सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सक्ने चेतावनीसमेत दिएको एक नेताले बताएका छन् ।

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उहाँको सांसद र उपप्रधान एवम् गृह मन्त्री पद पनि खारेज भएको थियो । लामिछानेको पद खारेजीपछि गृह मन्त्रालय आफैँ राख्ने माओवादीको तयारी छ । गृह मन्त्रालय नछाड्न प्रचण्डलाई पार्टीका नेताहरूले दबाब दिँदै आएका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार नै छाड्नेसम्मको चेतावनी दिएको हो ।आज बिहानको भेटमा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय लिँदा स्वार्थ बाँझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गरेका छन् ।


तपाईको प्रतिक्रिया