काठमाण्डौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिका लागि निर्वाचन हुनेछ। संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभा सदस्यहरू राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेको र कार्यतालिका ल्याएको बताए। उनकाअनुसार सातै प्रदेशमा मतदान गर्ने गरी तयारी गरे पनि सम्भव नहुने देखिएकोले काठमाडौंमै मतदान हुने व्यवस्था मिलाइएको छ।
मतदाता नामावली प्रकाशन फागुन १० गते हुनेछ भने दाबी, विरोध र उजुरीका काम त्यसपछि हुनेछन्। उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुने गरी आयोगले कार्यतालिका बनाएको छ। अन्तिम मतदाता नामावली भने फागुन १२ मा प्रकाशित हुनेछ। राष्ट्रपतिका लागि मनोनयन दर्ता भने फागुन १३ गते हुनेछ। उम्मेदवारीविरूद्ध उजुरी फागुन १४ मा दिन सकिनेछ। राष्ट्रपतिका लागि मतदान भने फागुन २५ गते हुनेछ। उनकाअनुसार उपराष्ट्रपति चुनाव भने चैत ३ गते हुनेछ। मतदाता नामावली प्रकाशनलगायत काम राष्ट्रपति निर्वाचनकै कामलाई निरन्तरता दिइने आयोगको तयारी छ। उपराष्ट्रपतिका लागि मनोनयन दर्ता भने फागुन २७ गते हुनेछ।


दर्शन खबर । १६ माघ २०७९, सोमबार