सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत संचार क्षेत्रलाई प्रविधि मैत्री बनाउने बताएका छन् । नेपाल प्रेस सेन्टरको १९ औँ स्थापनाको अवसरमा मन्त्री जिसीले पत्रकारको भौतिक तथा पेशागतका साथै स्वास्थ्य सुरक्षाका लागि पनि प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताए । उनले कर्णाली प्रदेश सरकारले छिट्टै आमसञ्चार प्रतिष्ठान गठनका लागि विधेयक ल्याउने तयारी गर्ने बताउँदै पत्रकारिता जगतमा देखिएका पत्रकारका गुनासा आगामी बजेटबाट सम्बोधन कसरी गर्न सकिन्छ भन्ने बारेमा आवश्यक परामर्श गरिने जनाए । सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले प्रादेशिक तहमा सचेतनामूलक कार्यक्रमका सहितका सुरक्षा योजना बनाउने गरी तयारी भइरहेको जानकारी समेत दिए । मन्त्री जिसीले कर्णालीका जनतालाई सहि सूचना दिन र खबरदारी गर्न कर्णालीका पत्रकारको भूमिका प्रशंसनीय रहेको बताए ।



दर्शन खबर । १५ माघ २०७९, आईतवार