रवि लामिछानेले आज नागरिकता बनाउने, गृह मन्त्रालयले समन्वय गर्ने

काठमाडौं। रवि लामिछाने नागरिकता लिन आज आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । उनले स्थानीय प्रशासनबाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नागरिकता लिन जाने तयारी गरेका पारिवारिक स्रोतले जनाएको छ । सर्वोच्चको फैसलाको पूर्ण पाठ आइनसकेपनि नागरिकता दिन फरक नपर्ने भएकाले रविलाई नागरिकता दिन लागिएको एक अधिकारीले बताएका छन् । ‘गृह मन्त्रालयले नै कानुनी समस्या नपर्ने गरी र अदालतको आदेशको विरुद्ध नहुने गरी नागरिकता दिँदा फरक पर्दैन भएकाले आज उहाँ आउनुभयो भने नागरिकता जारी गर्छौँ,’ एक अधिकारीले भने ।

यसअघि जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो । अमेरिकाको नागरिकता त्याग गरेपछि नयाँ प्रक्रियाबाट नागरिकता लिनुपर्नेमा रवि पुरानै नागरिकताको आधारमा चुनावमा उम्मेदवारी दिएर सांसद हुँदै मन्त्री बनेका थिए । तर शुक्रबार सर्वोच्च अदालतले उनको नागरिकता अवैध भइसकेको भन्दै उक्त नागरिकतामा आधारमा बनेका पदसमेत खारेज गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया