भेरीगंगामा लागु भयो ‘भू–उपयोग नीति’

सुर्खेत । भेरीगंगा नगरपालिकामा भू–उपयोग क्षेत्र वर्गीकरण सम्वन्धी मापदण्ड र आधारहरु ल्याईएको छ । भेरीगंगा नगरपालिकाले ‘भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी तयार गरिएको मापदण्ड तथा आधारहरु, २०७९’ कार्यान्वयनमा ल्याइएको हो । भेरीगंगा नगरपालिकाले माग १० गते सूचना जारी गर्दै भरीगंगा भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्ड तथा आधार २०७९ स्थानीय भू–उपयोग परिषद्बाट मंसिर २३ गते स्वीकृत भई लागु भएको उल्लेख गरेको छ । नगरपालिकाले माघ १० गतेबाट सबै वडाको जग्गाको वर्गीकरण स्वीकृत गरी विद्यमान भू–उपयोगको अवस्था, नापी विभागले पठाएको क्षेत्र वर्गीकरणको डाटा, सडक बाटोको पँहुच र सोको वर्गीकरण, कृषि उत्पादन र उत्पादकत्वको अवस्था, वातावरण तथा विपद संवेदनशीलता, भू–उपयोगसँग सम्बन्धित ऐन, नियमावली, सामाजिक तथा आर्थिक पूर्वाधारको वितरण, शहरी विकास योजना, वडाबाट आएका राय सुझाव र विभिन्न क्षेत्रका विज्ञ, सर्वदलिय र सर्वपक्षीय भेलाबाट प्राप्त राय सुझावका आधारमा मापदण्ड निर्धारण गरिएको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए । नगरपालिकाले जग्गाको वर्गीकरण नगर्दा जग्गा किनबेच ठप्पका साथै किनबेच, साटफेर, अंशबण्डासमेत बन्द रहेको थियो । स्थानीय सरकारले अहिलेसम्म वडादेखि नै जग्गा वर्गीकरण नगर्दा जग्गा कारोवार ठप्प भएको हो । जग्गा वर्गीकरण नगर्दा अंशबन्डा, कित्ताकाटलगायत अन्य कारोबारसमेत रोकिएको थियो । नयाँ भू–उपयोग क्षेत्र वर्गीकरण सम्वन्धी मापदण्ड र आधारहरु ल्याए पछि जग्गा किनबेचका सहयोग पुग्ने विश्वास गरीएको छ ।


तपाईको प्रतिक्रिया