अर्थमन्त्री शाहले गरे आम्दानी वृद्धिका लागि अध्ययन समितिसमेत गठन

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले पदभार सम्हालेलगत्तै कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी वृद्धिका लागि अध्ययन समितिसमेत गठन गरेका छन् । उनले प्रदेशको आन्तरिक आयका नयाँ क्षेत्र पहिचान गर्न अध्ययन समिति गठन गरेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरिएको मन्त्री शाहले बताए । उनका अनुसार सदस्यमा प्रदेश लेखा नियन्त्रक, आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख कर अधिकृत, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव तथा मालपोत कार्यालय र उद्योग वाणिज्य सङ्घका प्रतिनिधि रहनेछन् ।

आर्थिक मामिला मन्त्रालयको राजस्व व्यवस्थापन शाखाका अधिकृत सदस्यसचिव रहनेछन् भने कानुन तथा फैसला कार्यान्वयन शाखाका कानुन अधिकृत पनि सदस्य छन् । समितिलाई विशेषगरी राजस्वका नयाँ क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइने मन्त्री शाहले बताए । प्रदेश सरकारले हाल राजस्व उठाइरहेका क्षेत्रलाई थप प्रभावकारी बनाउन एवं नयाँ क्षेत्रको पहिचान गरी २०८० जेठ १५ गतेसम्म अध्ययन प्रतिवेदन पेस गर्न समितिलाई जिम्मेवारी तोकिएको छ । मन्त्री शाहले पुँजीगत खर्च वृद्धि र आन्तरिक स्रोत वृद्धिलाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले प्रदेश सरकारको आन्तरिक आम्दानी निकै कमजोर रहेको जनाउँदै मन्त्रालयका कर्मचारीलाई कर्णालीमा शतप्रतिशत बजेट खर्च गर्न निर्देशन दिएका छन् ।


तपाईको प्रतिक्रिया