सुर्खेत । प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकालले लुम्विनी प्रदेशबाट सञ्चालित प्रहरीका कार्यालयहरु छिट्टै कर्णालीमा फर्काउने बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग बोल्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी ढकालले आफ्नो कार्यकालमा सकेसम्म लुम्विनीबाट सञ्चालित प्रहरीका कार्यालयहरु सकेसम्म आफ्नै कार्यकालमा कर्णालीमा ल्याउने बताएका हुन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली प्रदेश दंगा नियन्त्रण, संघिय प्रहरी कार्यालय, अनुसन्धानका लागि कुकुर शाखा र प्रहरी ब्याण्ड लगायतका कार्यालयहरु लुम्विनी प्रदेशको कोहलपुर र नेपालगंजबाट सञ्चालित रहेका छन् ।
उनले कर्णालीमा सुरक्षाकर्मीको दरबन्दी कम भएको हुँदा यहाँ विभिन्न समस्याहरु धेरै हुने गरेको बताए । कर्णालीमा विशेषगरी लागुऔषध कारोवार दिनानुदिनै बढ्दै जानु, सडकको अवस्था नाजुक हुनु, सिट क्षमताभन्दा बढी यात्रुहरु बोक्नु, सिट बेल्टको प्रयोग नगर्नु, गाडि चालकले गाडि चलाउँदै गर्दा पनि मोबाईलमा ध्यानदिनु , चोरीका घटनाहरु बढ्नु, आत्महत्याका घटना बढ्नु लगायतका समस्याहरु सञ्चारकर्मीहरुले राखेका थिए । सञ्चारकर्मीले राखेका समस्याहरुलाई पुर्ण रुपमा निराकरण गर्न डिआईजी ढकालले सबैमा आग्रह गरेका छन् । डिआईजी ढकालले कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएर माघ ११ गते पदभार ग्रहण गरेका हुन् ।


दर्शन खबर । १३ माघ २०७९, शुक्रबार