सल्यान । गाउँमा गाडी पुगेपछि सल्यान पलाटेका स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन्। वडा कार्यालयसम्म पुग्न सडक निर्माण भएर पहिलो पटक गाउँमा गाडी पुगेपछि स्थानीयले खुशी भएका हुन्। सल्यानको छत्रेश्वरी गाउँपालिका १ पलाटेमा पहिलोपटक गाडी पुगेपछि निकै खुशी लागेको स्थानीय ७३ वर्षीय हिरालाल खत्रीले बताए। यसरी आफ्नै गाउँमा यति चाँडै गाडी आइपुग्ला भन्ने नसोचेको उनको भनाइ छ।गाडी गाउँमा प्रवेश गरेपछि रातो टीका बनाएर चालक र यात्रुलाई लगाएर खुशी साटेको ७२ वर्षीय लालबहादुर चन्दले बताए। गाउँ नजिकैबाट सधैँ गाडी गुड्ने गरेको भए पनि आफ्नै गाउँबाट गाडी नचल्दा समस्या भएकोमा अब समाधान भएको उनको भनाए छ।
बस्ती सडक सञ्जालसँग जोडिएसँगै बिरामीलाई जिल्लाबाहिर लैजान, काम पर्दा बाहिर जानका लागि सहज हुने उनले बताए। सडक सञ्जाललाई प्राथमिकता दिएको बताउँदै वडाध्यक्ष प्रकाश हमालले बस्ती बस्तीसम्म सडक लैजाने बताए। आव ०७९/८० का लागि वडाले विनियोजन गरेको ८ लाख रूपैयाँबाट निर्मित जरालोटे पोखरी-ससेखोला-जलेखर्क जोड्ने सडक निर्माण भएको उनको भनाइ छ। यस्तै शारदा यातायात सेवा प्रालिका उपाध्यक्ष कर्णदेव बस्नेतले दाङ तुल्सिपुरदेखि श्रीनगर-दमाचौर हुँदै पलाटेसम्म निरन्तर गाडी सन्चालन हुने बताए। थाहाखबर


दर्शन खबर । ५ माघ २०७९, बिहीबार