कृषि पेशामा रम्दै रमेश, वार्षिक ४ लाख बढी कमाई

कुलेन्द्र शाही सुर्खेत । करिब पाँच वर्षदेखि माछा तथा पशुपालन व्यवसायमा रम्दै आएका छन्, रमेश कुमार थापा । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ८ श्रीचौरका थापाले दुईवटा पोखरी निर्माण गरेर करिब ५ वर्ष अघिदेखि माछा तथा पशुपालन पालन गर्दै आएका छन् । १२ लाख रुपैयाँ भन्दा बढी फर्ममा लगानी भएको र २० लाख भन्दा बढी आम्दानी भएको थापा बताउँछन् । पछिल्लो समय उनले पन्चुरी मात्र नभई सुर्खेतमा नै राम्रो पहिचान बनाउन सफल भएका छन् । २०७३ सालदेखि माछा तथा पशुपालन शुरु गरेका उनले वार्षिक साढे ४ लाखसम्म कमाउँदै आएका छन् । माछा तथा पशुपालन पालन व्यवसाय गर्नुभन्दा पहिले उनी तीन वर्षको लागि विदेशमा गएर करिब दुई वर्षमात्रै बसेर आएका हुन् । उनी अहिले वार्षिक माछा पालनबाट मात्रै २ लाख रुपैयाँसम्म कमाउने गर्दछन् । २ सय ५० वटा भुराहरु राखेर माछा पालन शुरु गरेका थापा अहिले पन्चपुरी मात्र नभई सुर्खेतकै नमुना कृषक बन्न सफल भएका छन् । सुरुमा २०७३ सालमा २ सय ५० वटा माछाबाट व्यवसाय शुरु गरेका थापालाई २ सय ५० माछाले राम्रो आम्दानी दिएकोपछि उनले यही व्यवसायबाट नै मैले राम्रो आम्दानी गर्न सक्छु भन्ने लागेको बताए । उनले माछा पालनसँगै हाँस, लोकल कुखुरा, ब्रोईलर पालेका छन् । उनको फर्ममा अहिले १५ वटा हाँस, तिन सय ब्रोईलर कुखुरा र ९ वटा लोकल कुखुरा रहेका छन् । उनले एक किलो माछालाई रु.६ सयमा बेच्ने गर्दछन् । कति ठाउँमा माछा भएर पनि बिक्री हुदैनन् ।, तर उनको ठाउँमा भने माछा खाने ग्राहकहरुको भिड लाग्ने गर्दछ । ग्राहक माछा खोज्दै फर्ममा आउने गरेतापनि माग अनुसारको उत्पादन गर्न नसकेको थापा बताउँछन् । फार्ममा अहिले दुई हजार बढी माछाका भुरा रहेका छन् ।

उनले माछाका भुराहरु पहिले बर्दियाको बढैयातालबाट ल्याउँथे भने केही एक हप्ता अगाडि मात्रै कैलालीको सुक्कडदेखि ल्याएका छन् । साथै उनले २०७३ सालमा नै एउटा फर्म दर्ता गरे । फर्मको नाम हो, ‘मिना मत्स्य तथा पशुपन्छी पालन उद्योग,’ एकातिर माछा, हाँस, ब्रोईलर, लोकल कुखुरा छन् भने एकातिर टिमुर खेती, करिब ९,१० वर्षदेखि नै टिमुरमा लाग्दै आएका छन् । उनले पन्चपुरी नगरपालिका वडा नम्बर ७ मा टिमुर खेती पनि गर्दै आएका छन् । सोही ठाउँका एक जनालाई टिमुर खेति रेखदेखको लागि काम गर्ने मान्छे समेत राखेका छन् । काम गर्ने व्यक्तिले टिमुर रेखदेख गरेका मात्रै महिनाको ५ हजार रुपैयाँ लिने गर्दछन् । थापाको घरमा दुईवटा छोराहरु छन् । छोराहरु यही व्यवसायबाट आएको पैसाले पढ्छन् भने घर खर्च पनि यही पैसाले धान्ने गरेको थापाले बताए । उनको ठाउँमा व्यवसायको लागि बजारीकरणको कुनै समस्या नभएको उनको भनाई छ। उनलाई पहिले देखि नै विभिन्न सरकारी निकायहरुले सहयोग गर्दै आएका छन् । व्यवसाय गर्ने सोच बनाएका कृषकहरुले बजारीकरण, उपयुक्त ठाउँ, समयमा जस्ता कुरामा ध्यान दिएर मात्रै व्यवसाय गर्न उनले आग्रह गरेका छन् । सुरुमा व्यवसाय गर्दा आर्थिक, प्रतिष्पर्धा, फर्म दर्ता जस्ता कुराले निकै समस्या बनाउने गरेको उनको भनाई छ । राज्यले पनि विभिन्न अनुदान, उत्कृष्ट कृषक घोषणा, घरघरमा पुगेर तालिम, औषधि जस्ता सेवा सुविधा दिन सके आफू एक सफल कृषक भएर देशलाई नै चिनाउने उनको लक्ष्य छ । उनको फर्ममा हाल कारयो जातका माछाहरु पाइन्छन् ।


तपाईको प्रतिक्रिया