
सुर्खेत । वीरेन्द्रनगरमा भूकम्प र आगलागी जस्ता विभिन्न विपद्को घटनाले पार्ने र त्यसबाट बच्नका लागि गरिने उपायसम्बन्धी कृतिम घटना अभ्यास गरिएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मुख्य आयोजना वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न गगैर सरकारी संस्थाहरुको सहकार्यमा कृत्रिम घटना अभ्यास गरिएको हो । सुर्खेतका विभिन्न स्थानमा सुख्खा मौसमका साथै जाडोको बेला बालिने आगो कारण भइरहेको आगलागी र त्यसपछि हुने विपद्को असर, प्रभाव, नोक्सानी तथा उद्धार, उपचार र राहतको प्रक्रियाबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कृतिम घटना अभ्यास गरिएको हो । अभ्यासमा आम सर्वसाधारणलाई भूकम्पबाट हुनसक्ने सम्भावित क्षति र न्यूनीकरणका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो । एक दिवसीय कृत्रिम घटना अभ्यास कार्यक्रममा केही घर निर्माण गरी भूकम्प र केही फुसको घर बनाएर विद्युत सर्ट भएर भएको आगलागीको घटना गराएर त्यसको असर, क्षति, घाइतेको उद्धार, उपचार र मृतकको खोज तथा शव सङ्कलन लगायतको अभ्यास गरिएको थियो ।
घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरी एम्बुलेन्समार्फत नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो ।अभ्यास कार्यक्रममा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका साथसाथै, वीरेन्द्रनगर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको संयुक्त सहभागिता रहेको थियो ।
उक्त घटना अभ्यास कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र रेडक्रस लगायतका विभिन्न संघ संस्थाहरुको समन्वयमा भुकम्प दिवसको अवसरमा गरिएको हो । सोमवार हुने भनिएको कार्यक्रम पोखरामा भएको विमान दुर्घटनाका कारण नेपाल सरकारले शोक बिदा दिएको हुँदा उक्त कार्यक्रम मंगलबार गरिएको हो ।


दर्शन खबर । ३ माघ २०७९, मंगलवार