सुर्खेत । कर्णाली प्रदेशको कृषि कर्जा २६ दशमलव १७ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ पुगेको छ । शुक्रबार सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको मंसिर मसान्तसम्ममा २६ दशमलव १७ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ पुगेको हो । २०७९ असार मसान्तसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७८ असार मसान्तसम्मको तुलनामा २६ दशमलव १७ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ पुगेको राष्ट्र बैङ्ले जनाएको छ । गत वर्षमा यो कर्जा ४७ दशमलव ८४ प्रतिशतले वृद्धि भई ३ अर्ब ९२ करोड ६३ पुगेको थियो ।
कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ४ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ कर्जा कृषि तथा वनजन्य शीर्षकमा प्रवाह भएको छ । ३ करोड ५० लाख कर्जा माछापालनमा प्रवाहित भएको बैङ्कले जनाएको छ । समीक्षा वर्षमा कृषि तथा वनजन्य शीर्षकमा प्रवाह कर्जा २८ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ भने माछापालनमा ६० दशमलव ६७ प्रतिशतले घटेको छ । कर्णाली प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै २ अर्ब २८ करोड ६८ लाख रुपैयाँ सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम ९२ करोड रुपैयाँ डोल्पामा प्रवाहित भएको छ ।


दर्शन खबर । २९ पुष २०७९, शुक्रबार