तीन प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै

काठमान्डौँ । बुधवार नियुक्त भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिने भएका छन् । लुम्बिनी प्रदेशमा माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका छन्। उनले आज सानो आकारको मन्त्रिपरिषद गठन गरी शपथ लिने कार्यक्रम छ । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे प्रदेश राजधानी राप्ती उपत्यकामा शपथ गराउने छन् । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पनि आजै शपथ लिने कार्यक्रम छ।

नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले आज दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। यस्तै सुदूपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले पनि आजै शपथ लिनेछन् । माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनँले आज दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीसँग पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको शपथ भने भोलिमात्रै हुने भएको छ ।थाहा खबर


तपाईको प्रतिक्रिया