
सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले साढे तिन वर्षमा ४३ हजार ७ सय ८७ सवारी चालकलाई कारबाही गरी ३ करोड २६ लाख ४० हजार ३ राजस्व संकलन गरेको छ । चालक अनुमतिपत्रबिना सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालक बढी कारबाहीमा परेका छन् । असारमा १ सय ७२ सवारी चालकलाई कारबाही गरी एक लाख पाँच हजार राजस्व संकलन गरिएको छ ।
आर्थिक वर्ष २०७६-७७ मा ८ हजार ९ सय ५९ सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जसमा ७२ लाख ९३ हजार ३ सय राजस्व संकलन भएको हो । सोही आर्थिक वर्षमा ७ सय ३० मादक पदार्थ सेवन गरेका सवारी चालक कारवाहीमा परेका छन् । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा १२ हजार ९ सय ६९ सवारी चालकलाई कारबाही गरिएकोमा रु ९० लाख २४ हजार ५ सय राजस्व संकलन गरीएको ट्राफिकको तथ्याङ्गमा उल्लेख गरीएको छ । जसमा १ सय ३० जनाले मादक पदार्थ सेवन गरेको बताईएको छ ।
यस्तै आर्थिक वर्ष ०७८/०७९ मा १५ हजार ७ सय ८० मा सवारी चालकलाई कारबाही गरिएकोमा १ करोड १७ लाख ९ हजार ५ सय राजस्व संकलन गरीएको हो । यस्तै चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनामा ६ हजार १ सय ९ सवारी चालकलाई कारवाही गरिएको र ४३ लाख १३ हजार राजस्व संकलन गरीएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाकारी दिएको छ । जिल्लामा हाल अस्थायी रुपमा १३ वटा ट्राफिक कार्यालय रहेका छन् ।
दुर्घटनामा परि एक सय एक जनाको मृत्यु
जिल्लामा साढे तिन वर्षको अवधिमा सवारी दुर्घटनामा परि एक सय एक जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा विभिन्न स्थानमा भएको ४४ सवारी दुर्घटनामा परि ३७ जनाको मृत्यु भएको हो । जसमा २८ पुरुष र ९ जना महिला रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार २०७६ साउनदेखि ०७७ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ३३ जना पुरुष र २८ जना महिला गरी ६१ जना गम्भिर घाईते भएका थिए । सवारी दुर्घटना सम्वन्धि कार्यालयको तथ्यांक अनुसार विगत साढे तिन वर्षमा ०७६/७७ मा सवैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसको मृत्युमा भएको छ । जिल्लामा आर्थिक वर्ष ०७७/०७८ मा ३३ सवारी दुर्घटना हुदाँ २५ जनाको मृत्यु भएको थियो । जसमा १९ जना पुरुष र ६ जना महिला रहेका छन् । यस्तै सोही वर्षमा १६ जना गम्भिर घाईते भएको प्रहरी हवल्दार शाहीले जानकारी दिए ।
उनका अनुसार १२ जना पुरुष र ४ जना महिला छन् । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा ३३ सवारी दुर्घटनामा परि ३२ जनाको मृत्यु भएको छ । जसमा अन्तरगत २६ जना पुरुष र ६ जना महिला रहेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख गरीएको छ । यस्तै चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनामा जिल्लामा ९ सवारी दुर्घटना हुँदा तिन पुरुष र ४ जना महिला गरी ७ जनाको मृत्यु भएको छ । यस्तै ३ जना पुरुष गम्भिर घाईते भएका छन् ।
साढे तिन वर्षको अवधिलाई तुलना गर्दा सवारी दुर्घटनाको संख्या र दुर्घटनाबाट हुने मृत्युदर घटेको कार्यालयको तथ्यांकले देखाएको छ । ट्राफिक कार्यालयले दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम तथा सवारी चेकजाँचलाई तिव्रता दिदै आएको ट्राफिक प्रहरी हवल्दार शाहीले जानकारी दिए । २०७९ साउनदेखि पुस २० गतेसम्म सम्म सुर्खेतमा १ सय २१ पटक ‘चालकसँग एक मिनेट’ कार्यक्रम गरीएको छ । कार्यक्रम अन्तरगत चालक र यात्रु गरी करीब ६ हजार ९ सय ५४ जना लाभाम्वित भएको हवल्दार शाहीले जानकारी दिए । साढे तिन वर्षमा सडक दुर्घटनामा सबैभन्दा वढि मोटरसाईकल र अटो दुर्घटनामा परेका छन् ।


दर्शन खबर । २४ पुष २०७९, आईतवार