शहिद पार्कको भाईरल बाघलाई मर्मत गर्ने तयारी


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ को भैरम सामुदायिक वनभित्र रहेको ‘शहिद पार्क’मा राखिएको बाघलाई मर्मत गरीने भएको छ । पछिल्लो समय बाघ र कन्याको मूर्तिको मूल्य तथा बनावटलाई विभिन्न टिप्पणी गरेर सामाजिक सञ्जालमा भाइरल भएको मुर्तिलाई पुनः मर्मत गर्न लागिएको हो । सुर्खेतको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको शहिदपार्क पर्यटककै आकर्षणका लागि बनेको पाटेबाघको मूर्तिको आलोचना भएपछि फेरि त्यसलाई मर्मत गरेर पाटेबाघकै आकर्षक स्वरूपमा ल्याउने तयारी गरिएको वीरेन्द्रनगर नगरपालिका ४ का वडाध्यक्ष शेरबहादुर केसीले बताए । मुर्तिलाई तत्कालै मर्मत गर्नका लागि भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई मर्मत गर्न निर्देशन दिएको जानकारी दिए ।

अहिले सहिदपार्कमा राखिएको पाटेबाघको मूर्तिको आधार अस्वाभाविक मोटो देखिएको छ । उक्त मूर्ति एउटै ढुंगाबाट बनेकोले त्यसलाई काँटछाँट गर्दा स्पष्ट आकार आउँने केसीले दाबी गरे । भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा भइरहेको आलोचनाको समाधान हुनेगरी पुनः मर्मत गरेर मूर्तिलाई सही आकार दिइने बताएका छन् । सामुदायिक वनले उक्त मूर्ति निर्माण गर्नका लागि वीरेन्द्रनगरकै कृष्णकुमार श्रेष्ठलाई जिम्मा दिएको थियो । जिम्मा लिएका श्रेष्ठले सुर्खेत बाहिरबाट कालिगढ ल्याएर शहिद पार्कमा राख्ने पाटेबाघको मूर्ति बनाउन लगाएका थिए ।

जिम्मा लिएका श्रेष्ठले माघ १० गतेभित्र त्यो मूर्ति बनाउने ललितपुरका कालिगढ सिताराम डिङडोगका दाई शुक्रराम डिङडोग सुर्खेत आएर बनाउने प्रतिवद्धता जनाए । कालीगढले उक्त मूर्ति हतारमा बनाएको र लागत पनि कम भएकाले मुर्ति विग्रिएको स्वीकार गरेका छन् ।सामुदायिक वनका अध्यक्ष कार्कीले उक्त मुर्ति मर्मतका लागि थप शुल्क नदिने जिकिर गरेका छन् । शहिद पार्कमा आउने पर्यटकबाट लिइने शुल्कबाट जम्मा भएको रकमले बाघ र कन्याको मूर्ति बनाइएको हो । हाल पार्कमा प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ लिने गरीएको छ । कालिगढलाई बाघ र कन्याको मुर्ति बनाउन करीब एक महिना लागेको थियो ।

 


तपाईको प्रतिक्रिया