दैलेख । दैलेखको दुल्लु नगरपालिकास्थित दुल्लु अस्पतालमा अप्रेशन थ्रियटर स्थापना गरि सञ्चालनमा आएको छ । नगरपालिकाले सञ्चालन गरिरहेको अस्पतालमा अपरेसन थिएटर स्थापना गरी सञ्चालनमा ल्याईएको हो । सोमबार औपचारिक कार्यक्रम गरी प्रतिनीधिसभा सदस्य सीताकुमारी राना, कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले थिएटरको उद्घाटन गरेको अस्पताले जनाएको छ । दुल्लु नगरका मेयर भरतप्रसाद रिजालले अपरेसन थिएटर स्थापनासँगै दैलेखसहित अछाम र कालीकोटका नागरिकले सेवा पाउने बताए ।
यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजन नारायण नकर्मीले अब अस्पतालबाट शल्यक्रियामार्फत प्रसुतीदेखि सामान्य खालका सबै शल्यक्रिया सेवा दिने सकिने बताए । दुल्लु नगरपालिका, निक साइमण्ड इन्सिच्युट लगाएतका निकायको सहयोगमा थिएटर सञ्चालनमा ल्याउन सफल भएको उनले बताएका छन् । अहिले १५ शैयाको दुल्लु अस्पतालमा एकजना एमडीजीपी डाक्टर, तीन जना मेडिकल अफिसर, स्टाफनर्स र अनमी ११, एचए र अहेव ९, ल्याब टेक्निसियन तीनसहित ४५ जना स्वास्थ्यकर्मी रहेको डा नकर्मीले बताए ।


दर्शन खबर । १९ पुष २०७९, मंगलवार