रुकुम पश्चिम । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पुन मत गणना गर्नु नपर्ने फैसला गरेको छ । मुसिकोट नगरपालिकाका नगरप्रमुखका प्रत्याशी माओवादी केन्द्रका बसन्त कुमार शर्मा सहित दुई वटा वडा अध्यक्षका प्रत्याशीले पुन मतगणनाको माग सहित दायर गरेको यस्तो फैसला गरेको हो । पुस १३ गते मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेल र न्यायाधीश लेखनाथ ढकालको संयुक्त इजलासले शर्मा लगायत वडा नम्बर १ का वडा अध्यक्षका प्रत्याशी डम्बर थापा र वडा नम्बर १४ का वडा अध्यक्षका प्रत्याशी चन्द्रबहादुर विष्टले पुन मतगणनाको माग सहित दायर गरेको मुद्दामा दावी नपुगेको भन्दै पुन मतगणना नगर्नुपर्ने फैसला सुनाएको हो ।
तीनै जना प्रत्याशीहरूले गत जेठ १२ गते पुन मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा १३ मतान्तरले नेपाली काङ्ग्रेसका महेन्द्र केसी विजयी भएको थिए । केसीले ६ हजार ९ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी शर्माले ६हजार ९ सय १ मत प्राप्त गरेका थिए । वडा नं १ मा काङ्ग्रेसका ज्ञानु चन्द्र चन्द र वडा नं १४ मा काङ्ग्रेसकै गोवर्धन वली विजयी भएका थिए ।


दर्शन खबर । १८ पुष २०७९, सोमबार