प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली आज (शुक्रवार) बिहानै बालुवाटारमा पुगेका थिए । उनीहरुबीच शक्ति बाँडफाँट र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता साझेदार दलहरुले हिजो मात्रै राजनीतिक उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका छन्। त्यसको नेतृत्व ओलीलाई दिइएको छ । यन्त्रले आवश्यकताअनुसार सरकारलाई मार्गनिर्देशनसमेत गर्न सक्नेछ । सत्तारूढ दलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाएका छन् ।

समितिका सदस्यहरूमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवलशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल सदस्य छन्। जसपाले नाम टुंगो लगाउन बाँकी छ । गठबन्धन मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका मुद्दा थाती राखेर सरकार साझा न्यूनतम कार्यक्रम बनाउन जुटेको हो । सरकारको साझा न्यूनतम कार्यक्रम र संसद्बाट विश्वासको मत हासिलपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको योजना छ ।


तपाईको प्रतिक्रिया