काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको बताएका हुन् । यद्यपि उनले आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको बताए ।
‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन् । ती बजारका हल्लामा कुनै सत्यता छैन’,पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘यो सुनेर के हो ? कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ । तर बजारको हल्लाको पछि लाग्नु हुँदैन ।’ उनले त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको पनि बताए ।


दर्शन खबर । १४ पुष २०७९, बिहीबार