नेपाल पत्रकार महासंघद्वारा ‘सुर्खेत घोषणा’ जारी

सुर्खेत । नेपाल पत्रकार महासंघले आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा पछि ‘सुर्खेत घोषणा–२०७९’ जारी गर्दै महासंघले सञ्चारकर्मीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको हो । पत्रकार परिचयपत्र सूचना विभागले जारी गरेको प्रेस पास बाट बञ्चित हुँदा श्रमजीवी पत्रकारहरुलाई सूचनाको पहुँचसम्म पुग्नसमेत कठिनाइ भएकाले प्रेस पासको सहज उपलब्धताका लागि आवश्यक वातावरण बनाउन सम्वद्ध सबै निकायलाई महासंघले अपिल गरेको छ ।

‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीहरूलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ’, ‘सुर्खेत घोषणा–२०७९’ मा भनिएको छ ।  ‘श्रमजीजी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि यो साधारणसभा सरकारसँग जोडदार माग गर्दछ । ’, नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठित तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको ठहर महासंघले गरेको छ । 


तपाईको प्रतिक्रिया