गौहत्यामा संलग्न पाँच जना प्रहरी नियन्त्रणमा

सुर्खेत । गौहत्यामा संलग्न पाँच जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालगञ्जबाट दैलेखको शीरिस्थान लैजाने क्रममा बिहीबार राति बीच बाटोमै गाई फालेर फर्किएका ८ मध्य ५ ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।
सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगरस्थित कटकुवा क्षेत्रमा भीरबाट गाई फालेर नेपालगञ्ज फर्कँदै गरेका पाँच वटा ट्रकलाई बबईबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको कान्जीहाउसमा रहेका गाई दैलेख लैजाने क्रममा बीच बाटोमै ट्रकबाट खसालिएको प्रहरीले जनाएको छ ।
सुर्खेतका डिएसपी रवी रावलले कानुनी प्रक्रिया पूरा गरी ल्याइएका गाई बीच बाटोमै किन खसालिए भन्नेबारे अनुसन्धान भइरहेको बताए ।
प्रहरीले मृतक गाईको तथ्याङ्क संकलन गरिरहेको छ । करिव तीन किलोमिटरको दूरीमा गाईहरु छन् । भिरमा खसालेको अवस्थामा पनि मृतक चौपायाहरु फेला परेका छन् । प्रहरीले मुचुल्का उठाइरहेकाले मृतक चौपायाहरुको संख्या अझै बढ्न सक्ने देखिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका वरिष्ट अधिकृत प्रकाश पौडेलले भने घाईते गाईको उपचार र मरेका गाईको व्यवसथापनका लागी नगरपालिका लागीरहको बताए ।


तपाईको प्रतिक्रिया