सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर ७२ जहाजबाट शुक्रवारदेखि नियमित उडान सुरु भएको छ । उद्योग वाणिज्य संघको पहलमा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी वुद्ध एयरले एटिआर ७२ जहाजमार्फत् काठमाडौं–सुर्खेत–काठमाडौँ रुटमा नियमित उडान प्रारम्भ गरेको हो । शुक्रवार काठमाडौंदेखि सुर्खेतको लागि विहान ११ : ५४ मिनेटको समयमा प्राधिकरणका उच्च अधिकारी सहित ६५ यात्रु ल्याएर पहिलो व्यावसायिक उडान भरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शुक्रवार नै उक्त जहाजले प्राधिकरणका उच्च अधिकारी सहित ५५ जना लिएर फर्किएको उद्योग वाण्ज्यि संघका अध्यक्ष कँडेलले जानकारी दिए । सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाज मार्फत परीक्षण उडान टेस्ट फ्लाइट गरिएको थियो ।
उक्त परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिने भएको हो । बुद्ध एयरको एटिआर ७२ जहाजले काठमाडौँ सुर्खेत गन्तव्यमा दैनिक एक उडान गर्नेछ । उक्त जहाजमार्फत उडानले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासका साथै यात्रुहरुलाई समेत टेवा पुग्ने विश्वास लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एटिआर ७२ जहाजमार्फत नियमित उडान भएपछि उक्त रुटको हवाई भाडा पनि सस्तो हुने बताईएको छ । हाल काठमाडौँ सुर्खेतसम्मको हवाई भाडा ७ हजार देखि ११ हजारसम्म तोकिएको अध्यक्ष कँडेलले जानकारी दिए । यसअघि कम्पनीले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत उक्त गन्तव्यमा दैनिक एउटा उडान गर्दै आएको थियो ।





दर्शन खबर । १ पुष २०७९, शुक्रबार