छिन्चु बसपार्कको शिलन्यास, समयमै काम सक्न नगरप्रमुख ढकालको निर्देशन


सुर्खेत । भेरीगंगाको छिन्चुमा बसपार्कको शिलान्यास गरएको छ । नगर विकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौता भएपछि निर्माण कार्यका लागि बसपार्कको शिलान्यास गरिएको हो । भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँङ्गी लगायतको उपस्थितिमा बसपार्क शिलान्यास गरिएको हो । १० करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण हुने बसपार्क निर्माणको जिम्मा ग्राण्ड डिजाइन एण्ड कन्ट्रक्सन प्रा.लि. बाँकेले २०८१ असार २९ गतेसम्म सम्पन्न गर्ने गरी पाएको छ । आधुनिक बसपार्क निर्माण भएपछि सुर्खेत, जाजारकोट, रुकुमलगायत कर्णाली भित्रिने सवारीहरुलाई पार्किङको सहज व्यवस्था हुने र काम समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई ताकेता गरिने भेरीगंगा नगरपालिकाका इञ्जिनियर विजय केसीले बताए ।

उनले बसपार्क २ दशमलव १५ हेक्टर क्षेत्रफलमा निर्माण हुने जानकारी दिए । बसपार्क शिलान्यासपछि बोल्दै नगरप्रमुख ढकालले आधुनिक पुर्वाधारयुक्त र सुविधा सम्पन्न शहर निमार्णमा सरकार जुटेको बताए । बसपार्क बनेपछि छिन्चुलाई सुन्दर शहर बनाउने अभियानमा सहयोग पुग्ने नगरप्रमुख ढकालले विश्वास लिएका छन् । नमुना बसपार्कको रुपमा निमार्ण गर्न लागिएको बताउँदै नगर प्रमुख ढकालले बसपार्क सञ्चालनमा आएपछि यात्रुहरुलाई सहजता हुने र भेरीगंगाकोे विकासमा समेत टेवा पुग्ने बताए । नगरप्रमुख ढकालले असार ३० गते सम्झौता भए पनि बीचमा बर्खा, विभिन्न चाडपर्व र मंसिर ४ को निर्वाचनले केही प्रभाव पारेर शिलान्यासमा ढिलाइ भएको बताए । बसपार्क निर्माणको काम समयमै सम्पन्न गर्न नगर प्रमुख ढकालले निर्माण कम्पनीलाई निर्देशनसमेत दिएका छन् ।नगरपालिकाले छुट्टै ठाउँ खरिद गरी सरकारसँग साटफेर गरेर उक्त बसपार्क बनाउन लागिएको नगरप्रमुख ढकालले बताए । शिलान्यास भएको बसपार्कमा तीन तले भवन, तीन वटा गेट, टिकट काउण्टर र विभिन्न पसलहरु सञ्चालन गर्न सकिने छ । बसपार्क निर्माणको काम २ वर्षभित्र सक्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका छिन्चुमा बसपार्क नहुँदा धेरै नै सास्ती भएको स्थानीयले गुनासो गरेका छन् । पार्किङको व्यवस्था नहुँदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ गर्ने गरिएको छ । समयक्रम अनुसार नयाँ बस थपिने तथा धमाधम नयाँ संरचना बन्न थालेपछि पार्किङको समस्या थप जटिल बन्दै गएको छ ।सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ । बसपार्क नहुँदा सडक दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ गरिएका हुन्छन् । सडकको दायाँ र बायाँ किनारमा सवारी साधन पार्किङ गरिएका कारण हिँड्नै अप्ठ्यारो हुने गरेको स्थानीयहरुको गुनासो रहेको छ ।

छिन्चुमा सवारीसाधन पार्किङका लागि बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज एवं प्रहरी निरीक्षक रमेश राईले बताए ।बसपार्क नहुँदा गाडी धेरै बेरसम्म रोक्न नसकिने, गाडी धेरै भएका बेला केही टाढा नै जीप रोक्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ । छिन्चुमा दैनिक एक हजार भन्दा बढी सवारी आवतजावत गर्ने गर्छन् । सडकको अन्तिम छेउभन्दा करिब २–४ सय मिटर टाढा गाडी रोक्नुपर्ने बाध्यता रहेको चालक हेमन्त शर्माले बताए । बजारमा भएको अव्यवस्थित गाडी पार्किङले ग्राहक पसलसम्म पुग्न नसकेको पनि छिन्चुका व्यवसायीहरु बताउँछन् ।

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया