डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका झडप हुँदा नौ जना घाइते भएका छन्। गाउँपालिका-३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुबै पक्षका गरेर नौजना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति नौ बजेको समयमा झडप भएको र झडपमा परी एमालेका चार र माओवादीका पाँचजना कार्यकर्ता घाइते भएका छन्। घटना हिजोको भएपनि सोमबार बिहानमात्रै जानकारी आएको प्रहरीले जनाएको छ। घाइते हुनेमा वडा नं ३ बस्ने एमाले समर्थक ४२ वर्षीय जालपा बोहोरा, ३८ वर्षीय भद्र बोहोरा, कृष्णजंग बोहोरा, ५० वर्षीया शान्ता बोहोरा र माओवादी समर्थक सोही वडाकै वर्ष ५९ वर्षीय बिर्ख बोहोरा, १८ वर्षीय लक्ष्मण बोहोरा, ५४ वर्षीय गोरसिंह बोहोरा, २६ वर्षीय पविन्द्र बोहोरा र २१ वर्षीय जगत बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। थापाका अनुसार माधक पदार्थ सेवन गरी झडपको कारण भएको थियो।
झडपमा गम्भीर घाइते भएका चारजना एमाले कार्यकर्तालाई हेलिकोप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं लगिएको छ। त्यसैगरी माओवादी समर्थक पाँचजना सामान्य घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्यचौकी उपचार गरी घर फर्किएको उनले बताए। उपचारकालागि काठमाडौ लगिएका चारजनाको स्वास्थ्यावस्था खतरामुक्त छ। प्रहरीका अनुसार सामान्य विषयमा विवाद हुँदा हात हालाहालको स्थिति आएको थियो घाइते अधिकांशको टाउकोमा चोट लागेको बिरामी कुरुवा विजय बोहोराले जानकारी दिए। नयाँ पत्रिका


दर्शन खबर । २६ मंसिर २०७९, सोमबार