
सुर्खेत । ‘समावेशी विकासका लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सुर्खेतको लेकवेशी नगरपालिकामा कपडा र स्टेश्नरी सामाग्री वितरण गरिएको छ । लेकवेशी नगरपालिकाको आयोजना र सामुदायिक अपाङ्गता विकास केन्द्र सुर्खेत, श्री सिर्जनशिल सामुदायिक अपाङ्गता कृषि तथा पशुपालन सहकारी संस्था र सिर्जनशिल अपाङ्गता पुर्नस्थापना केन्द्र लेकवेशी र डेक नेपालकोे समन्वयमा नगरपालिकाको वडा नम्बर ८ कुईनेपानीमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अपाङ्गता भएका ८ जना विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामाग्री प्रदान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखा प्रमुख कृष्ण शाहीले जानकारी दिईन् । त्यस्तै सोही कार्यक्रममा अपाङ्गता भएका १ जना पुरुषलाई बैसाखी प्रदान गरिएको छ भने व्यवस्थित विकास तालिम संचालन गरेर व्यवसाय गरीरहेका व्यक्तिहरुलाई प्रमाण पत्रका साथै दोसल्लाले सम्मान गरीएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं लेकवेशी नगरपालिका नगरप्रमुख उमेश कुमार पौडेलले लेकवेशीमा अपाङ्गतामैत्री भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानजनक रुपमा प्रोत्साहन गर्न सबैलाई आग्रह गरेका छन् । यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाउन नगरपालिकाले गरिरहेको प्रयासमा विभिन्न संघ संस्थाको पनि उत्तिकै सहयोग मिलेको उनले जानकारी दिए । उक्त कार्यक्रममा नगरप्रमुख उमेश कुमार पौडेल, उपप्रमुख एवम् अपाङ्गता समिति संयोजक विमला खड्लुक, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाही, विभिन्न राजनैतिक दलका प्रतिनिधि, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, कर्मचारी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो भने शाखा प्रमुख शाहीले कार्यक्रमको संचालन गरेकी थिईन् ।



दर्शन खबर । १७ मंसिर २०७९, शनिबार