कर्णालीमा प्रतिनिधि तर्फ नेकपा एमाले निल, को-को भए विजयी ?


सुर्खेत । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ । विगत भन्दा यो पटकको निर्वाचन अलि रोमाञ्चक बन्यो । यो पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी पार्टी, र लोकतन्त्रीक समाजवादी पार्टी बिच तालमेल भएको थियो । सोही अन्तरगत कर्णाली प्रदेशमा पनि बाम लोकतान्त्रिक गठबन्धन भएर मंसिर ४ को निर्वाचनमा दलहरुहरु चुनावी मैदानमा होमिएका थिए । उनिहरुले विभिन्न आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए । जनताले मंसिर ४ मा भोट हालेर उम्मेदवारलाई जिताईसकेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन । यहाँका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । नतिजा अनुसार ११ ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन । कर्णालीमा यस पटक प्रतिनिधि सभा तर्फको निर्वाचनमा एमाले शुन्यमा झरेको छ । यस पटक ४ स्थानमा नेपाली कांग्रेस, र ३ स्थानमा एकीकृत समाजवादीका उम्मेदववार विजयी हुँदा ४ स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । यस्तै राप्रपाका १ जना उम्मेदवार प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन ।

जाजरकोट
एमालेको गढ मानिने जाजरकोटमा एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । जाजरकोटमा नेकपा एमालेबाट निरज आर्चाय र गठबन्धनबाट माओवादीका साझा उम्मेदवार शक्ति बस्नेत र स्वतन्त्रबाट नर बहादुर कार्कीको प्रतिसपर्दा चलेको थियो । जाजरकोटमा यस पटक प्रतिनिधि सभा तर्फ पुर्व गृहमन्त्री समेत रहेका नेकपा माओवादीका उम्मेदवार शक्ति बस्नेत गठबनधनको तर्फबाट विजयी भएका छन् । उनले ९ हजार ३१ मतको प्राप्त विजयी भएका छन् । उनले ३४ हजार एक हजार ५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का निरज आर्चायले २५ हजार १२० मत प्राप्त गरे । ०७० र ०७४ को निर्वाचनमा पनि बस्नेत विजयी भएका थिए ।

सुर्खेत क्षेत्र १
यस्तै सुर्खेतका दुवै क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ । सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधि सभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका हुन । उनले नेकपा एमालेका उम्मेदवार धुव्रकुमार शाहीलाई सहजै पराजित गरेको छन् । खड्काले शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन । कांग्रेस उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा धुव्रकुमार शाहीले खड्कालाई पराजित गरेका थिए ।

सुर्खेत क्षेत्र २
सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । थानीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका अमृतबहादुर बुढा क्षेत्रीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । थानीले ३४ हजार ६२५ मत प्राप्त गरे । एमाले क्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरेका छन् । यसअघि ०५६ र ०७० को निर्वाचनमा सांसदमा निर्वाचित भएका थानी ०७४ सालको निर्वाचनमा भने एमालेका नवराज रावतसँग पराजित भएका थिए । ०७४ मा रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।

रुकुम पश्चिम
रुकुम पश्चिममा संघीय सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ फराकिलो मतान्तरले विजयी भएका छन । शर्माले २६ हजार ५८८ मतान्तरले एमालेका उम्मेदवार नन्दराम देवकोटालाई पराजित गरेका हुन । यस क्षेत्रमा कुल ६० हजार ५६२ मत खसेकोमा शर्माको पक्षमा ३९ हजार ५४९ मत आएको थियो । एमालेका देवकोटाले १२ हजार ९६१ मत पाए । यस्तै शर्माविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार ५६७ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार मल्लले ७९६ मत पाएका छन । शर्माको यो चौथो जित हो । यसअघि ०६४, ०७०, ०७४ मा पनि उनी फराकिलो मतान्तरले निर्वाचित भएका थिए ।

दैलेख क्षेत्र नं १
दैलेख निर्वाचन क्षेत्र नं १ मा सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापाले १८ हजार २५६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माले १७ हजार ४०७ मत पाएका हुन् । थापाले ८४९ मतकोे अन्तरले जित हासिल गरेका हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्ती कुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी थिईन ।

दैलेख निर्वाचन क्षेत्र नं २

दैलेख निर्वाचन क्षेत्र नं २ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् । शाही १ सय ५३ मतान्तरले विजयी भएका हुन् । शाहीले २० हजार १ सय ५८ मत प्राप्त गरेका छन । गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएका नेकपा एमाले लक्ष्मीप्रसाद पोखरेलले २० हजार ५ मत प्राप्त गरेका छन । पराजित पोखरेल एमालेको पोलिटब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज हुन ।

सल्यान
सल्यानमा एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । जुन निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला निर्वाचित भएका छन् । उनले ३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन । ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ । एमालेका उमेदवार राजेन्द्रवीर राय तेस्रो स्थानमा रहे । उनले १३ हजार २९ मत पाएका छन् ।

डोल्पा
डोल्पामा पनि एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । जसमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका छन । उनले नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७ सय ५७ मतान्तरले पराजित गरेका हुन । बुढाले ११ हजार २ सय २५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी शाहीले ५ हजार ४९८ मत ल्याएका छन् । पराजित शाही ठुलीभेरी नगरपालिकाका निर्वतमान नगरप्रमुख हुन । नेकपा एसबाट नेकपा एमालेमा प्रवेश गरेर शाही बुढासँग चुनावी प्रतिस्पर्धामा थिए । बुढा पूर्व पर्यटन राज्यमन्त्री हुन ।

जुम्ला
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही विजयी भएका छन । सत्ता गठबन्धनको तर्फाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवर लाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन । उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त गरेकी थिईन । त्यसैगरी नेकपा एमाले का रतननाथ योगीले ६ हजार ५ सय २८ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले ९ सय ५५ मत प्राप्त गरेका थिए । जुम्लामा जम्मा खसेको मत ४५ हजार दुई सय ८४ मध्ये दुई हजार चार सय ७८ मत बदर भएको थियो ।

हुम्ला
हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित भएका छन । लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भएका छन । उनीहरुबीच चार हजार आठ सय ५५ मतको मतान्तर रहेको छ । यस्तै राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका छन् । यस्तै बदर मत संख्या पाँच सय २४ थियो ।

कालिकोट
कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन । शाहीले २४ हजार चार सय ७४ मत पाएका छन । यहाँ नेकपा एमालेका उम्मेदवार नगीन्द्र शाही उनीसँग पराजित भएका हुन् । उनले १६ हजार चार सय १० मत पाएका छन । महेन्द्र कर्णालीका पूर्वमुख्यमन्त्री हुन । उनी माओवादीका पोलिटव्यूरो सदस्य हुन ।

मुगु
एउटा मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस ऐनबहादुर शाही निर्वाचित भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९ सय ९४ मतान्तरले पराजित गर्दै शाही विजयी भएका हुन । मुगुका जिल्ला सभापति समेत रहेका शाहीले १४ हजार ७ सय २ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गर्नुभयो । मुगुमा ३५ हजार ४ सय ८५ मतदाता रहेकोमा २६ हजार ६ सय १५ मत खसेको थियो । गत असोजमा सम्पन्न कांग्रेसको ९ औं जिल्ला अधिवेशनबाट शाही जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा भने नेकपा एमालेका गोपाल बहादुर कम १३ हजार ३४ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए ।

 

तपाईको प्रतिक्रिया