जाजरकोटमा मतगणना सुरु

जाजरकोट । जाजरकोटमा मतगणना सुरु भएको छ । सर्वदलीय वैठकपछि मतगणना सुरु भएको हो । मत गणनाको पहिलो चरणमा प्रदेश सभा (क) मा बारेकोट ४ र ९ बाट सुरु हुने जनाईएको छ । यस्तै, प्रदेश सभा (ख) मा छेडागाड १० र ११ को मतगणना हुने भएको छ । प्रतिनिधि सभा तर्फ जुनीचाँदे गाउँपालिका वडा नं ८ र ६ बाट सुरु हुने भएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको आईतवार भएको निर्वाचनमा ६३ प्रतिशत मत खसेको छ । जाजरकोटमा स्थानीय तहको निर्वाचनमा खसेको मत भन्दा ८ प्रतिशत मत कम खसेको छ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा करीव ७२ प्रतिशत मत खसेको जाजरकोटमा यस पटक ६३ प्रतिशत मत मात्र खसेको छ ।

कुल एक लाख तीन हजार तीन सय ६३ मत मध्य ६५ हजार नौ सय ६१ मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । भेरी नगरपालिकामा १३ हजार ६ सय ४१ मत खसेको छ । नलगाडमा १० हजार २ सय ८१ मत, छेडागाडमा १३ हजार ४ सय १८, बारेकोटमा ८ हजार ३ सय ४०, कुशेमा ७ हजार ५ सय ३, जुनीचाँदेमा ७ हजार ६ सय ६७ र शिवालयमा ५ हजार १७ मत खसेको छ । त्यस्तै अस्थायी मतकेन्द्रमा ९४ मत खसेको छ । धेरै मतदाताहरु रोजगारीको खोजीमा भारत लगायतका देशमा बैदेशिक रोजगारमा गएका, देशकै शहरी क्षेत्रमा गएका र अध्ययनको सिलसिलामा जिल्ला बाहिर गएकाहरु पनि नफर्किएका कारण कम मत खसेको हो ।


तपाईको प्रतिक्रिया