सुर्खेत। सुर्खेतमा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बोलाईएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनाका लागि सोमबार बिहान सर्वदलिय बैठक बोलाईएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाका लागि सर्वदलिय बैठक बिहान ८ बजे भनिए पनि अलि ढिला भएर बैठक बस्न लागेको हो । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का मूख्य निर्वाचन अधिकृत उपेन्द्र केशर खनालका अनुसार सबै मतदान केन्द्रबाट सोमबार बिहान तीन बजेभित्र मतपेटिका मतगणना स्थलमा ल्याइसकिएको छ । सुर्खेत २ को मतगणना वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा हुँदैछ ।
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा भने मतदान स्थगित भएको छ । प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसाएपछि आइतबार मतदान स्थगित भएको थियो । खनालका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलिय बैठकमा सहभागी हुन जाँदैछन । बैठकमा सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने विषयमा पनि छलफल हुने बताईएको छ ।


दर्शन खबर । ५ मंसिर २०७९, सोमबार