मतगणना राति ९ बजेदेखि सुरु हुन्छ : थपलिया

काठमाण्डौ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाण्डौ लगायत तराईका जिल्लाहरू आज राति ९ बजेदेखि मतगणना सुरु गरिने बताउनुभएको छ । भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताउनुभएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आज आइतबार बिहान ७ बजेदेखि देशभर एकै चरणमा मतदान सुरु भएको छ । आज बेलुकी ५ बजे मतदान सकिने बित्तिकै सबै मतपेटिकाहरू सङ्कलनको काम सुरु हुने र ७ बजेसम्म मतपेटिका सङ्कलन गरी एक घण्टा छलफलको समय राखेर आज राति ९ बजेदेखि मतगणना सुरु गरिने बताउनुभयो ।

हिमाली जिल्लामा भने आजै मतपेटिका सङ्कलनको काम नसकिने भन्दै भोलि सोमबार बिहान ५ बजेसम्म सबै मतपेटिका जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका सङ्कलन गरी भोलि ५ बजेबाट मतगणना सुरु गर्ने जानकारी दिनुभयो । प्रत्यक्षतर्फको नतिजा आउँदो ८ दिन भित्रमा प्रकाशित गरिसक्ने उहाँले दाबी गर्नुभयो । मङ्सिर २२ गते भित्रमा सबै नतिजा आइसक्ने उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया