
सुर्खेत। निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले अब सुर्खेतको वीरेन्द्रनगरबाट नियमित आफ्नो एटिआर ७२ जहाजबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा बुद्धको ७२ जहाजले बुधवार वीरेन्द्रनगर विमानस्थलबाट सफलतापूर्वक परीक्षण उडान गरेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यसअघि लामो समयदेखी सुर्खेत विमानस्थलबाट १८ सिटे हुँदै ४७ सिटे बुद्धको जहाजले नियमित उडान भरीरहेको थियो । तर भाडादर महंगो भएकोले भाडादर घटाउनुपर्ने वा ७२ सिटे जहाज सञ्चालन गर्नुपर्ने स्थानियहरुले माग राख्दै आएका थिए ।
सुर्खेत विमास्थलबाट भाडादर मंहगो भएपछि सुर्खेत लगायत कर्णालीका नागरिक नेपालगञ्जबाट उडान भर्न बाध्य भएको गुनासो बारम्बार आईरहेका थिए । यसै विषयमा सुर्खेत उद्योग बाणीज्य संघले सुर्खेतमा ७२ सिटे विमानको उडान हुनुपर्ने वा भाडादर घटाउनुपर्ने विषयमा लामो समयदेखी कुरा उठाउँदै आएको थियो । एटीआर ७२ जहाज मार्फत उडान भर्न सुरु गरेसँगै यात्रुलाई प्रत्यक्ष लाभ पुग्नेगरी अब भाडासमेत सस्तो हुने विज्ञप्तिमा भनिएको छ । एटिआर ७२ जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने भएकाले हवाई भाडा पनि सस्तो हुने विश्वास बुद्धले लिएको जनाएको छ । अव यसको भाडादर भने सात हजार पाँच सय तोकिएको छ । साथै टेस्ट फ्लाईटको रिपोर्ट उडान अनुकुल रहेको अवस्थामा जनवरी २०२३ बाट एटिआर ७२ बिमान मार्फत दैनिक दुई उडान संचालन गर्ने बुद्ध एयरले योजना बनाएकोे छ ।



दर्शन खबर । ३० कार्तिक २०७९, बुधबार