मतदाता भन्छन् विकास सँगै रोजगारी सृजना गर्नेलाई भोट दिन्छौँ


सुर्खेत । आसन्न मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला उम्मेदवारहरु घरदैलो, आमसभा, जुलुस जस्ता कार्यक्रममा व्यस्त भईरहेका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्राय उम्मेदवारहरुको अनुहार पुरानै देखिएको छ । साथै उम्मेदवारले पुरानै एजेण्डा लिएर मतदाताहरुलाई फकाईरहेका छन् । मतदाताहरुले भने निर्वाचन पछि विकाससगैँ रोजगारीको सिर्जना गर्न उम्मेदवारहरुलार्ई जोड दिएका छन् ।
कस्तो उम्मेदवारलाई भोट दिन चाहान्छन् मतदाता ?
आसन्न प्रतिनिधि तथा प्रदेश सभा चुनावमा विभिन्न एजेण्डा लिएर मतदाता कहाँ जाने तर ति एजेण्डाहरु निर्वाचन पछि कार्यान्वयन नगर्ने हुदाँ कर्णालीका जनताहरुले नेतादेखि दिक्क भएको गुनासो गरेका छन् । तैपनि निर्वाचित जनप्रतिनिधिबाट नागरीकले अपेक्षा भने गर्न छोडेका छैनन । विगतका दिनमा नेताहरुको व्यवहारबाट दिक्दारी बनेका जनताहरुले यसपाली पनि धेरै अपेक्षा गरेका बताएका छन । भोट दिन लागेको बर्षौँ भयो जनताको चाहाना अनुसार कसैले पनि काम गर्दैन यो पटक पनि धेरै उम्मेदवार पुरानै एजेण्डा लिएर आउने गरेको मतदाता बताउँछन् । तर जति उम्मेदवार आए पनि सबैँ आफ्नो मात्रै काम गर्छन त्यसैले जसले हाम्रो मतको कदर गर्छ उसैलाई भोट दिने बताउछन वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ इत्रामका मनिराम शर्मा धमला । यस्तै वीरेन्द्रनगर ४ का धर्मराज भारतीले पनि गाउँ सहरमा विकास, पार्टीगत नभई साझा क्षमतावान उम्मेदवारलाई मत दिन आफु तत्पर रहको यसका साथै थपिएको कर, बजारको महङ्गीले जनता मारमा परेका भन्दै यसलाई कम गर्न सके सहज हुने उनको भनाई रहेको । जाजरकोटको शिवालय गाउँपालिका ५ थालारैकरका झकेन्द्र शाहीले देशमा भ्रष्टचार, अत्याचार धरै भएको छ । त्यसलाइ निराकण गर्न सक्ने युवाहरुलाई आफ्नै देशमा रोजगारको व्यवस्था गर्ने उम्मेदवारलाई आफुले भोट दिने दाबी गरे । यस्तै वीरेन्द्रनगर ७ इत्रामका सुन्दर मान श्रेष्ठले भने देशमा समस्याहरु धरै छन्, ति समस्याहरु विगतका सरकारले पुरा नगर्ने हुँदा उनले नयाँ युवाहरुलाई निर्वाचनमा जिताउन आवश्यक रहको बताए । आफलेु धेरै वर्ष पहिलेदेखि भोट हाल्दै आएको र भोट माग्नेबेला उम्मेदवारले विभिन्न प्रतिवद्धता लिएर आउँछन तर जनताले मत दिएर निर्वाचित बनाए पछि उम्मेदवारले सबै आफ्ना प्रतिवद्धता विर्सिने गर्छन उनि भन्छन्, “त्यसैले अबको निर्वाचनमा सकेसम्म युवाहरुको लागि नेपालमै रोजगार सिर्जना गर्ने उम्मेदवारलाई मैले मत दिन्छु” विरेन्द्रनगर कै धन बहादुर बुढाले भने । यस्तै दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका ४ का झलक शाहीले पनि उस्तै गुनासो गरे । उनले भने हामीले पहिले जस्तै जसलाई पायो त्यसलाई भोट दिदैनौँ यो पटकको निर्वाचनमा व्यक्ती चिनेर जसले गाउँघरमा शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, सडक जस्ता समस्या समाधान गर्न सक्छ उसैलाई मत दिने छु । मत पाउनु भन्दा पहिले विभिन्न प्रतिवद्धता देखाउने तर निर्वाचित भईसकेपछि जनताका दुःख जस्ताको त्यस्तै छन्, त्यसैले अबको चुनावमा हाम्रोलाई होइन राम्रोलाई मेरो मत जाने छ उनले भने । यस्तै वीरेन्द्रगरको देउती इन्जिनियर कलेजमा अध्ययनरत ओम बहादुर शाहीले युवाहरुलाई भोट दिने र वृद्धा उम्मेदवारलाई बहिस्कार गर्ने योजना बनाएको बताए । सुर्खेतमा सडकको अवस्था नाजुक छ । ढलको अवस्था पनि उस्तै छ । विकास गरेर देखाउने नेताहरुलाई जनताले सधै चुन्ने तथा यो समस्या पुरा गर्न सक्ने उम्मेदवारलाई मात्रै आफुहरुले भोट दिने बताए । विकासका साथ साथै हरेक नागरीकहरुको आर्थिक अवस्था सुधारका कार्यक्रम ल्याउनुपर्ने मतदाताहरुले अपेक्षा गरेका छन् ।

के छन् त उम्मेदवारका प्रतिवद्धताहरु ?
प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन आउँन अब केही दिन मात्रै बाकी छ । यति बेला उम्मेदवारले जनतालाई फकाउनको लागि विभिन्न आफ्ना घोषणापत्रहरु सार्वजनिक गरिरहेका छन् । कांग्रेस नेता तथा सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हृदयराम थानीले र नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ क प्रदेश सभा सदस्यका उम्मेदवार यामलाल कँडेलले केही दिन अघि आफ्ना चुनावी प्रतिवद्धता सार्वजनिक गरे ।
हृदयराम थानीका चुनावी प्रतिवद्धताहरु
लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थानीले आफ्नो क्षेत्रको विकासका लागि विभिन्न १६ बुँदेप्रंतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनले आफु निर्वाचित भईसके पछि कोहलपुर सुर्खेत सडक स्तरोन्नति गर्ने पहिलो योजना बनाएका छन । वीरेन्द्रनगर चक्रपथको निर्माण गर्ने, वीरेन्द्रनगरको फोहोर व्यवस्थापन गर्ने, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई केन्द्र बनाई धार्मिक तथा पर्यटकीय सर्किट सञ्जाल बनाउने, १३२ केभीए विद्युत लाइन प्रशारण, फलाँटे तेलपानी भुरीगाउँ सडक निर्माण गर्ने, सुर्खेत विमानस्थल समस्याको उपयुक्त निकास खोज्ने, पश्चिमका सबै पालिकामा विद्युतीकरण, कर्णाली प्रदेशका जिल्लामा हुने हवाई उडान सुर्खेत विमानस्थलबाटै गर्न व्यवस्था गर्ने, बडिडचौर गुटुबेनीघाट सडकको स्तरोन्नति गर्ने जस्ता प्रतिवद्धता पत्र लिएर जनताहरुको घरदैलो कार्यक्रममा व्यस्त छन् ।
यामलाल कँडेलका चुनावी प्रतिवद्धताहरु
यस्तै नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ क प्रदेश सभा सदस्यका उम्मेदवार यामलाल कँडेलले पनि केहि दिन अघि आफ्ना चुनावी प्रतिवद्धता सार्वजनिक गरे । उनले पनि सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लाहरूमा उडानको लागि आवश्यक व्यवस्था गर्ने, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्ने, विधानको मार्गदर्शन, क्षेत्राधिकार र कर्णाली प्रदेशको आवश्यकता तथा विद्यमान अवस्थालाई मध्यनजर गर्दै जनपक्षीय कानुन निर्माण गरी कार्यान्वयन गर्न पहल गर्ने, वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिने, वीरेन्द्रनगरमा प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गर्ने, वीरेन्द्रनगरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरबासीको हित अनुकूल प्रयोग गर्ने नीति बनाउने, वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजनाको पुनरावलोकन गरी कार्यान्वयनमा जोड दिने प्रतिवद्धतामा पुर्णताका साथ प्रतिवद्धतामा उल्लेख गरेका छन् ।
यस्तै घुस्रा, रहरपुर, पर्सेनी हुँदै निकास खोलासम्म हुने डुबानलाई समाधान गर्न खोर्के, इत्राम र नेवारे खोलाहरूको मुहानदेखि निकाससम्म तटबन्धन तथा संरक्षणको व्यवस्था मिलाइने, उपत्यकाकाको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि पहल गर्ने त्यसका लागि प्रस्तावित भेरी पम्पिन आयोजना समयमा सम्पन्न गर्न जोड दिने, निर्माणधीन प्रादेशिक रंगशालालाई समयमै सम्पन्न गर्न पहल गर्दै अन्य खेल पूर्वाधारको विकास गरिने, सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मिनी सिंहदरबारका रूपमा विकास गरिने, काँक्रेविहार, देउतीबज्यै, बुलबुले, शहिदपार्क, घण्टाघर, सत्यकोंडा, सिद्धपाइला, रानीघाट र गढीलगायत स्थलहरूलाई विशेष पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्न पहल गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ । साथै १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजनालाई समयमै सम्पन्न गर्न पहल गरी हाल देखिएको समस्यालाई समाधान गरिने, कोहलपुर सुर्खेत सडकखण्डलाई फोरलेनको रूपमा स्तरोन्नति गर्ने, मूलपानी रानीघाट तेलपानी भुरीगाउँ सडक निर्माण गर्नुका साथै बामेखोला भेरीपुल निर्माणाधीन सडकको स्तरोन्नतिमा जोड दिइने प्रतिवद्धता पत्रमा समावेश गरेका छन् ।
यस्तै सुब्बाकुनादेखि कोलडाँडासम्म उपत्यकाको बीच भागमा हटलाइन सडक निर्माणका लागि पहल गर्ने, साथै वीरेन्द्रनगरको ट्राफिक समस्याको समाधान गर्न जोड दिने, सुर्खेत विमानस्थल जाने इत्रामखोला, देउतीबज्यै मन्दिर जाने नेवारेखोला, वीरेन्द्रचोकदेखि यरीचोकसम्म जाने खोर्केखोला र पर्सेनी खोलामा पुल तथा कल्भर्टहरू निर्माण गर्ने, प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न पहल गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ । यस्तै सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाउने, वीरेन्द्रनगरमा अत्याधुनिक विधि विज्ञान प्रयोगशाला स्थापनाका लागि पहल गर्ने, बहुप्राविधिक शिक्षालय स्थापना गरी शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई बजारीकरण गर्ने, हालको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई स्वरोजगार तालिम केन्द्रका रूपमा विकास गर्ने, श्रम डेस्क स्थापना गरेर श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रणाली व्यवस्थित गर्ने उल्लेख गरेको छ ।
साथै मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पसलाई गुणस्तरीय प्रतिस्पर्धी र उच्चतहको अध्ययन, अनुसन्धान तथा शोध केन्द्रको रूपमा विकास गर्न पहल गर्ने, सामुदायिक विद्यालयहरूका लागि हाल विनियोजन गरिंदै आएको बजेटमा वृद्धि गरी सुरक्षित भवन, आवश्यक जनशक्ति, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेलकुद र सरसफाइको उचित प्रबन्ध गर्दै निजी शैक्षिक संस्थाहरूलाई पनि व्यवस्थित गर्ने, यस क्षेत्रमा कृषि तथा पशुपालनका लागि राम्रो सम्भावना भएका स्थानलाई पकेट क्षेत्रका रूपमा विकास गरी स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्न वीरेन्द्रनगरका विभिन्न स्थानमा हाट बजार सञ्चालनमा ल्याउने, सहकारी संस्थाहरूलाई एकीकरण गर्दै उत्पादन र बजारीकरणसँग जोड्ने, युवा वैज्ञानिक तथा खोज अनुसन्धानका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग सहकार्य गरी वीरेन्द्रनगरमा आधुनिक साइन्स पार्क स्थापना गर्ने, युवाहरूको सर्वाङ्गीण विकासका लागि प्रदेश राजधानी वीरेन्द्रनगरमा आधुनिक प्रविधियुक्त पुस्तकालय स्थापना गर्नुका साथै प्रमुख सार्वजनिक स्थानलाई फ्री वाईफाई जोन बनाइने प्रतिवद्धता पत्रमा कँड्लले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया