मध्यपश्चिम विश्वविद्यालयमा हरेक महिनाको दुई दिन अनिवार्य श्रम गरिने

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालय परिसरमा हरियाली र सरसफाई कायम गर्न अनिवार्य श्रम गराउने भएको छ । यसअन्तर्गत अब हरेक महिनाको दोस्रो र चौथो बिहीबार दिउँसो २ः०० बजेदेखि ५ः०० बजेसम्म तीन घण्टा अनिवार्य श्रम गरिनेछ । विश्वविद्यालयका सफा शौचालय, विश्वविद्यालय परिसरभित्र विभिन्न प्रजातिका रुखविरुवा, रंगीविरंगी सुगन्धित फूलहरूले भरिएका सुन्दर बगैँचा निर्माण गरी सबैको आकर्षणको केन्द्रविन्दु बनाउन यही कात्तिक महिनादेखि “मध्यपश्चिम विश्वविद्यालय हरियाली, फलफूल तथा सरसफाई अभियान” सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत नै कात्तिक २४ गते बिहिवार कुइनेपानी, मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर तथा घण्टाघर लाइनदेखि खुलामञ्चसम्मको फोहोर उठाई सरसफाई अभियानको सुरुवात गरिएको छ । विश्वविद्यालय अन्तर्गतका प्रत्येक निकाय प्रमुखहरूको नेतृत्वमा अभियान सञ्चालन गरिने बताइएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंहको नेतृत्वमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य र कर्मचारीहरूको सहभागितामा सरसफाई अभियान सुरु भएको हो ।अभियानमा नियमित योगदान गर्ने संघ, संस्था तथा व्यक्तिहरूलाई विश्वविद्यालयले विशेष सन्दर्भ पारी कदरपत्रले सम्मान गर्ने योजना पनि बनाएको छ ।


तपाईको प्रतिक्रिया