भेरी–बबई डाइभर्सनमा २२ करोडको क्षति

सुर्खेत । गत १८ असोजदेखि २५ गतेसम्म एक साता परेको अविरल वर्षापछि भेरी नदीमा आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनामा २२ करोड बराबरको क्षति भएको छ । वर्षापछि भेरी नदीमा आएको बाढीले आयोजनाअन्तर्गत भेरीगंगाको चिप्लेमा बन्दै गरेको विद्युतीय तथा सिँचाइँ ड्याम निर्माणस्थलमा करोडौँका सामग्रीमा क्षति पुर्‍याएको हो । बाढीले करोडौँको सामानमा क्षति पुर्‍याएपछि निर्माणकार्य ठप्प भएको छ । बाढीपछि भेरी नदीमा बन्दै गरेको विद्युतीय तथा सिँचाइँ कपर ड्याम निर्माणस्थल ढुंगा, बालुवा, माटो र पानीले पूर्ण रूपमा पुरेको छ । बाढीले कपर बाँध निर्माणस्थलमा मेसिन, फलामका डन्डा, सिमेन्ट, फर्माहरू, कटिङ, बेन्डिङ, सर्पोट सामानहरू बगाएको, पुरेको र भाचिँएको निर्माण कम्पनी रमन कन्ट्रक्सनका स्ट्रक्चर इन्जिनियर हिक्मत लम्सालले जानकारी दिए ।

बाढीले पुर्‍याएको क्षतिका कारण आयोजना निर्माणकार्य दुई महिना पछाडि धकलिएको छ । आयोजनाका सूचना अधिकारी एवम् वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीका अनुसार भेरीको पानी सतह घटेपछि मात्र निर्माणको काम सुरु हुने छ । भेरी नदीमा आयोजनाको विद्युतीय तथा सिँचाइँ ड्याम निर्माण सुरु भएको पाँच वर्षपछि पहिलोपटक क्षति भएको हो । भेरी–बबई डाइभर्सन आयोजनाले भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने तथा यसबाट ४६।८ मेघावाट बिजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइँ सुविधा उपलब्ध गराउने लक्ष्य छ । आयोजनाको पहिलो चरणअन्तर्गत टनेल निर्माण कार्य सम्पन्न भएको छ । अहिले दोस्रो चरण अन्तर्गतको सिभिल संरचनाहरूको निर्माण कार्य भइरहेको छ । बाह्रखरी

तपाईको प्रतिक्रिया