पाकिस्तान तेस्रोपटक टी २० विश्वकपको फाइनलमा

काठमाण्डौँ । पाकिस्तान अस्ट्रेलियामा जारी टी २० विश्वकपको फाइनल प्रवेश गरेको छ । उसले आज सम्पन्न पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई सात विकेटले हराउँदै तेस्रोपटक फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि २००७ मा उप विजेता बनेको पाकिस्तानले २००९ मा उपाधि जितेको थियो । १५३ रनको लक्ष्य पाकिस्तानले पाँच बल बाँकी छँदा तीन विकेट गुमाउँदै भेट्टायो । उसका लागि मोहम्मद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले । रिजवानले ४३ बलमा पाँच चौकासहित ५७ रन बनाउँदा आजमले ४२ बलमा सात चौको मद्दले ५३ रनको योगदान दिए । मोहम्मद हरिसले ३० रन जोडे । रिजवान र आजमले पहिलो विकेटका लागि १०५ रनको शतकीय साझेदारी गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरूवात दिलाएका थिए ।

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले दुई तथा मिचेल सान्टनरले एक लिए । त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५२ रन बनाएको थियो । उसका लागि ड्यारिल मिचेलले ३५ बलमा तीन चौका र एक छक्कासहित अविजित ५३ रनको अर्धशतकीय पारी खेले । कप्तान केन विलियमसनले ४६,डेभोन कोन्वेले २१ र जेम्स निशमले अविजित १६ रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले दुई तथा मोहम्मद नवाजले एक विकेट लिँदा एक विकेट रन आटका रूपमा प्राप्त भयो । पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्याण्डबिचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पार्धा गर्नेछ ।


तपाईको प्रतिक्रिया