मंसिर ४ को निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने

काठमाण्डौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने जानकारी दिएको छ । मतदान सुरु हुनपूर्वको ४८ घण्टा कुनै पनि उम्मेदवार र राजनीतिक दलले चुनावी प्रचारप्रसार गर्न नपाउने आयोगले स्पष्ट पारेको छ । आयोगले चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

निर्वाचनका लागि दलहरु आज (बिहीवार) बाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहिता पालना गर्न सबैलाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिनअघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख भएको बताए । कोणसभा, गोष्ठी, सेमिनार, र्याली, गर्दा आचारसंहितामा निर्धारण भएका कुराहरुको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न उनले राजनीतिक दल र उम्मेदवारहरुसँग अपिल गरे । निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहिताको सीमा नमिचीकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुने दाबी गरे ।


तपाईको प्रतिक्रिया