सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं।  बहस गर्ने वकिलको लर्को लागेपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ। काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि जारी थुनछेक बहस बिहीबार पनि सकिएन। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित आठ जनाले बहस गरेका अदालतका सूचना अधिकृत दीपक दाहालले जानकारी दिए। उनका अनुसार बहस गर्ने कानुन व्यवसायी थपिएकाले आदेश आउन नसकेको हो। बिहीबार वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी र रमणकुमार श्रेष्ठसहितका कानुन व्यवसायीले बहस गरेको उनले बताए।

वरिष्ठ अधिवक्ता शम्भु थापाले बिहीबार बहस नगरेको दाहालले जानकारी दिए। बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरू मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए। अझै वकिलहरु थपिएमा शुक्रबार पनि आदेश आउने संभवान न्यून रहेको दाहालले बताए।

उनका अनुसार प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस पनि गर्न सक्नेछन्। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गरे पनि मंगलबार दिनभर सन्दीपको बयान भएकाले बुधबार मात्रै थुनछेक बहस सुरु भएको थियोे। इजलास समक्ष भएको बयानका क्रममा सन्दीपले इन्कारी बयान दिएका छन्।

लामिछानेविरुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जर्वजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यतिबेला क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्न वेष्टइण्डिज पुगेका लामिछाने झण्डै एक महिनापछि असोज २० गते मात्रै स्वदेश फर्किएका हुन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।थाहाखबर


तपाईको प्रतिक्रिया