४ वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न

काठमाण्डौ। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो । आज बिहीवार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । भोलिदेखि प्रदेश १ मा मतपत्र ढुवानी सुरु हुने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ।

यस पटक एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाताका लागि झन्डै आठ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार थान मतपत्र छपाइ हुन बाँकी छ । भोलिसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने र कात्तिक २५ गतेसम्ममा हरेक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पुग्ने आयोगले जनाएको छ ।


तपाईको प्रतिक्रिया