काठमाण्डाै । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षभित्र वैदेशिक लगानीलाई १५ गुणाले वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । बिहीबार सार्वजनिक चुनावी घोषणापत्रमा स्वतन्त्र पार्टीले पाँच वर्षभित्र वैदेशिक लगानीलाई कम्तीमा १५ गुणाले वृद्धि गर्ने प्रतिबद्धता जनाएको हो । ‘विश्व बैंक व्यवसायका लागि सहजता सूचकांकमा व्यापक सुधार गरी प्रत्यक्ष वैदेशिक लगानीलाई वर्गीकरण गरी, प्राथमिकताका क्षेत्रमा आउने वैदेशिक लगानीलाई एकद्वार प्रणाली अन्तर्गत ल्याइनेछ । पाँच वर्षभित्र वैदेशिक लगानीलाई कम्तीमा १५ गुणाले वृद्धि गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।
स्वतन्त्र पार्टीले ‘वडा एक व्यवसाय अनेक’ योजना पनि अघि सार्ने जनाएको छ । ‘वडा एक व्यवसाय अनेक योजना अन्तर्गत लघु, साना तथा मझौला व्यवसाय स्थापनामा सहजीकरणका लागि हरेक वडामा एकद्वार प्रणाली स्थापना गरिनेछ । यस्तो एक द्वार प्रणालीले ४८ घण्टाभित्र व्यवसाय निस्शुल्क दर्ता गर्नेदेखि व्यवसायका विभिन्न आयाममा सहयोग गर्ने व्यवसाय कोरल्ने केन्द्रसँग व्यवसायीलाई प्रत्यक्ष जोड्नेछ । पहिलो चरणमा हरेक प्रदेशमा न्यूनतम दुईवटा व्यवसाय कोरल्ने केन्द्र स्थापना गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।


दर्शन खबर । १७ कार्तिक २०७९, बिहीबार