कुलेन्द्र शाही जाजरकोट । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जाजरकोटमा १ हजार १ सय ४० कर्मचारी खटिने भएका छन । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख नविन कुमार कठायतले जानकारी दिए । जिल्लाभर १ सय ४२ स्थायी र एक अस्थायी मतदान केन्द्र रहेका छन् भने ८३ मतदानस्थल कायम गरिएको छ ।
प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् भने अस्थायी मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहायक कर्मचारी र एक कार्यालय सहयोगी रहने छन । त्यसैगरी चार स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटका सातवटै स्थानीय तह गरी १ लाख ३ हजार ६३ मतदाता छन । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष २९ हजार ४ सय २२, महिला २७ हजार १ सय ४३ र अन्य १ जना गरि जम्मा ५६ हजार ५ सय ६६ मतदाता छन ।
क्षेत्र नं २ मा पुरुष २४ हजार ८ सय ७९, महिला २१ हजार ६ सय १४ र अन्य १ जना गरी जम्मा ४६ हजार ४ सय ९४ जना रहेको निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिने छ । मतदाता शिक्षाका लागि जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा ८ सय ६० म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिने जिलला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।


दर्शन खबर । १६ कार्तिक २०७९, बुधबार