काठमाडौं अदालतमा सन्दीप लामिछानेको बयान सकियो

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीविरूद्ध भोलि (बुधवार) देखि थुनछेक बहस हुने छ । उनको मुद्दा मंगलवार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो । मंगलवार दिनभरि सन्दीपको बयान लिइएको अदालत स्रोतले जानकारी दिएको छ ।

सरकारी वकिलको कार्यालयले सन्दीपविरूद्धको मुद्दा सोमवार अदालतमा दर्ता गरेको थियो । प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सन्दीपले भदौ ५ गते गौशालास्थित एक होटलमा पुर्‍याई ति नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । युवतीले भदौ २१ गते सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसबेला उनी क्रिकेट खेल्न केन्या पुगेका थिए । सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।


तपाईको प्रतिक्रिया