सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सर्वदलिय वैठक सम्पन्न भएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद अर्यालको विशेष उपस्थितिमा सुर्खेत जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख उम्मेदवार प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि निर्वाचन आचार संहिता लगायत निर्वाचनमा पालना गर्नुपर्ने विविध विषयहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सर्वदलिय बैठक बसी विभिन्न निर्णयहरु गरिएको छ ।
यस्तै यही कात्तिक १७ गतेबाट बृहत रुपमा जनसभा तथा प्रचार प्रसारलाई तिव्रता दिन सक्ने हुँदा सबै राजनीतिक दल तथा उम्मेदवारले मित्रवत व्यवहार गरी प्रतिस्प्रर्धा गर्नुपर्ने, दुष्प्रचार नगर्ने र सभा जुलुस गर्ने क्रममा स्थानको तय समेतका विषयमा आपसी समन्वय गरि सञ्चालन गर्नुपर्ने जस्ता निर्णय गरेको जनाईएको छ । उक्त वैठकबाट निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचार संहिता, २०७९ को कार्यान्वयन, पालनाको अवस्था सम्बन्धमा बैठकमा छलफल हुनुका साथै आचार संहिता उल्लंघन सम्बन्धमा राजनैतिक दल र उम्मेदवारबाट भएका कमजोरीलाई सच्याई पूर्ण रुपमा परिपालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले उम्मेदवार बनेकाहरुलाई कुनै सुरक्षा चुनौती देखिएमा सुरक्षा समितिलाई लिखित रुपमा जानकारी दिन आग्रह गरेको छ ।


दर्शन खबर । १४ कार्तिक २०७९, सोमबार